काठमाडौं – धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ। पछिल्ला दिनमा लगातार उकालो लागेको नेप्से परिसूचकले आज पनि त्यही लय पछ्याएको हो।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव ५६ अङ्कले उकालो लागेर दुई हजार ६३ दशमलव ८३ मा पुगेको छ।यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ८८ अङ्कले उकालो लागेर तीन सय ९४ दशमलव ८९ अङ्कमा पुगेको छ।
कारोबार भएका कुल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने १० उपसमूहको शेयर मूल्य वृद्धि भएको छ।कारोबार भएकामध्ये एक सय ६५ कम्पनीको शेयर मूल्य वृद्धि भएको हो। यस्तै, ३९ कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा सात कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन।
कुल ८२ लाख ७१ हजार तीन सय ५५ कित्ता शेयर रु दुई अर्ब ९६ करोड नौ लाख २७ हजार चार सय ४० मूल्यमा खरिद बिक्री भए।कारोबारका आधारमा नवील बैंक शीर्ष स्थानमा छ। सो बैंकको रु १६ करोड ८४ लाख ५१ हजार दुई सय ८२ बराबरको कारोबार भयो।