चीनको हाङजाओमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत टी-२० क्रिकेटमा नेपालले माल्दिभ्सलाई १३८ रनले हराएको छ ।
२१३ रनको चुनौती पछ्याएको माल्दिभ्सलाई २ बल बाँकी छँदा ७४ रनमा अलआउट गर्दै नेपालले शानदार जित दर्ता गरेको हो । नेपालको जितमा अभिनास बोहरा नायक बने । अभिनासले माल्दिभ्सविरुद्ध ६ विकेट लिए ।
३.४ ओभर बलिङ गरेका अभिनासले ११ रन खर्चिएर ६ विकेट हात पारेका हुन् । बाँकी एकरएक विकेट सोमपाल कामी, गुल्सन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले लिए ।
माल्दिभ्सका लागि मुअभिथ गनेले सर्वाधिक ३६ रन बनाए । उनले ३४ बलमा २ चौका र २ छक्का प्रहार गरे। तर ६ ब्याटरले रनको खातै खोल्न सकेनन् । इस्माइल अलीले ३, फरिद शिउस १० रन बनाउँदा र रशीद रासम १२ रनमा नटआउट रहे ।
त्यसअघि नेपालले कप्तान रोहित पौडेलको अर्धशतकमा माल्दिभ्सलाई चुनौतीपूर्ण लक्ष्य दिएको थियो । रोहितले २७ बल खेल्दै ३ चौका र ३ छक्काको मद्दतमा ५२ रन बनाएर रनआउट भए ।
कुशल मल्लले २० बलमा ४७ रनको नटआउट पारी खेले । उनले ३ चौका र २ छक्का प्रहार गरे । गुल्सन झाले ३५, कुशल भुर्तेतले ३५, विनोद भण्डारी १३, आशिफ शेखले ६, सन्दीप जोराले ५ रन जोड्दा दिपेन्द्र सिंह ऐरी ६ रनमा क्याचआउट हुन पुगे । सोमपाल कामी १ रनमा नटआउट रहे ।
माल्दिभ्सका लागि नजवान स्माइलले ३ विकेट लिँदा नासिर नाइल इस्माइल, मोहमद मिउभान र थोलाल मोहमद रायाले समान एक/एक विकेट हात पारे ।
पहिलो खेलमा नेपालले मंगोलियालाई २७३ रनले पराजित गरेको थियो ।