पुष्पा न्यौपानेको मृत्यु प्रकरण : प्रेमी सुदनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

इन्गेजमेन्ट टुटेपछि ‘आत्मदाह’ गरेकी २७ वर्षीया पुष्पा न्यौपानेका प्रेमी सुदन संग्रौलालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । अदालतको आदेशपछि उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

इन्गेजमेन्ट तोडेपछि काठमाडौं महानगरपालिका-१० बुद्धनगरकी २७ वर्षीया न्यौपानेले धुम्बाराहीस्थित सुधनको घर अगाडि पुगेर पेट्रोल छर्केर आगो लगाएकी थिइन् । गत मंसिर १८ गते आगोले जलेर गम्भीर घाइते भएकी उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उनको मृत्यु भएपछि प्रहरीले सुधनलाई पक्राउ गरी आत्महत्या दुरूत्साहनको मुद्दा चलाएको थियो ।

प्रहरीका अनुसार उनलाई गत बिहीबार नै पुर्पक्षका लागि केन्‍द्रीय कारागार जगन्नागथदेवलमा पठाएको छ ।

न्यौपानेको परिवारले सुदनसहित उनका ५७ वर्षीय बुबा दिनेश, आमा बिन्दु संग्रौला र दाइ मधु संग्रौलाविरुद्ध पनि आत्महत्या दुरुत्साहनको कसूरमा किटानी जाहेरी दिएको थियो । तर, अदालतले त्यसबेलै बुबाआमा र दाइलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको थियो ।

झापा घर भएका सुधन र नुवाकोट घर भइ नयाँ बानेश्वरमा बस्दै आएकी पुष्पाबीच विवाह गर्न टीकाटालो भएको थियो।

तर गत मंसिर १७ गते सुधनको परिवारले एकतर्फी इन्गेजमेन्ट तोडेका थिए। त्यसको भोलिपल्ट साँझ पुष्पाले धुम्बाराहीस्थित सुधनको घर अगाडि पेट्रोल खन्याएर आत्मदाह गरेकी थिइन्।