शुक्रबार मात्रै अस्ट्रेलिया पलायन भए भनिएका नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगर नेपाल सुपर लिग (एनएसएल) खेल्न स्वदेश फर्कने भएका छन् ।
सोमबार विमलले सामाजिक सञ्जालमार्फत आफू एनएसएल खेल्न स्वदेश फर्कने बताएका हुन् । विमल राष्ट्रिय फुटबल टिमबाट विदा हुँदै गत साता अष्ट्रेलिया प्रस्थान गरेका थिए । जानुअघि उनले एनएसएलका लागि ललितपुर सिटी एफसीसँग गरेको सम्झौता रद्द गरेका थिए । सो क्लबले उनलाई मार्की खेलाडीका रुपमा अनुबन्ध गरेको थियो । विमलले छोडेपछि उनको स्थानमा अनन्त तामाङलाई ल्याइएको छ ।
विमलले एफसी चितवनको आइकोनिक खेलाडीको रुपमा एनएसएल खेल्नेछन् ।
सोमबार विमलले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘जिन्दगीमा अनेकौ उतार–चढाव आउँछन, उमेरको बड्दो क्रमसँगै जिम्मेवारी र ब्यवहारिक पन पनि बड्ने रहेछ। त्यसै क्रममा आफ्नो र परिवारको उज्ज्वल भविष्य बनाउनको निम्ति आफ्नो प्राण प्यारो देशप्रतिको माया र लगावलाई एक्छिन थाती राखेर अष्ट्रेलिया आउने निधो गरे । तर पनि मलाइ माया गरेर पुन आउँदै गरेको नेपाल सुपर लिगमा आइकनिक प्लेयरको रुपमा फेरि पनि आफ्नो माटोमा खेल्ने सुवर्ण मौका दिनु भएकोमा चितवन एफसीलाई लाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । यो अवसर सिर्जना गरिदिनु हुने आदरणीय ब्यक्तित्व लगायत मेरा सम्पूर्ण शुभचिन्तक हरुमा हार्दिक नमन टक्राउन चाहन्छु । जय नेपाल जय नेपाली फुटबल ।’