सत्ता गुमाएपछि रामचन्द्रको टिप्पणी : ‘म ताक्छु मुडो, बञ्चरो ताक्छ घुँडो’

कठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन्। मंगलबार स्पिकर्स फोरम नेपालले काठमाडौंमा आयोजना गरेको प्रदेश सभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व विषयक अन्तरक्रियामा बोल्दै वरिष्ठ नेता पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका हुन्।

उनले देशको अर्थतन्त्र खतरनाक अवस्थामा रहेको तथा राजनीतिक, आर्थिक र सामाजिक लगायतका समस्याहरूले घेरिरहेकाले समस्या समाधानका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताए। उनले वर्तमान व्यवस्था र संविधानको रक्षाका लागि सबै मिलेर राष्ट्रिय सहमति खोज्नुपर्नेमा जोड दिए। लामो संर्घर्षबाट आएको राजनीतिक परिवर्तनलाई जोगाउँदै सबै एक भएर राष्ट्रिय सहमति गरेर अघि जानुपर्ने उनको भनाई छ।

‘अहिले पनि राष्ट्रिय सहमति र राष्ट्रिय सहमतिको सरकारको प्रयत्न अझै पनि गर्नुपर्छ कि भन्ने मलाई लाग्छ। यो मेरो भित्र दिलले देखाएको बाटो। एउटा उपाय बाँच्ने बाटो। यो मलाई लागिरहेको छ,’ नेता पौडेलले भने, ‘नेपाललाई अहिले यो परिवर्तनलाई जोगाएर, यो व्यवस्था, यो संविधानलाई जोगाएर हामी एक भएर अझै पनि राष्ट्रिय सहमति गरेर जाने हो कि भन्ने मलाई लाग्छ।’

उनले नेपाली कांग्रेस र नेकपा ९माओवादी केन्द्र० लगायतको विगतको गठबन्धन हाइज्याक भएको टिप्पणी गरे। आफूहरूले गरेको हिसावकितावले काम नगरेको बताउँदै उनले विगतमा आफूहरूका बीचमा भएको गठबन्धन टुट्नु देशको लागि दुर्भाग्य भएको बताए।

‘म ताक्छु मुडो बञ्चरो ताक्छ घुँडो भन्ने एउटा नेपाली उखान छ, एउटा कुरा सोचेर आइराखेको छ कुरा अर्कै भइसक्छ। हाम्रो हिसावकितावले यहाँ काम गरेकै छैन। कुन हिसावकितावले काम गरेको हो थाहा छैन। एकथोक सोचेको अर्कोथोक भइराखेको हुन्छ। कांग्रेसले माओवादीलाई हँसियाहथौडामा भोट हालेर, माओवादीले रूखमा भोट हालेर आफ्नो विपरित सिद्धान्तलाई पनि अंगिकार गरेर चुनाव सम्पन्न भयो। लगभग गठबन्धन बहुमतमा आयो पनि। दुई चार भोट यता उता त्यो मिलिहाल्थ्यो। त्यो आएको गठबन्धन एकाएक हाइज्याक भयो। यसलाई मैले के रूपमा भनेको छु भने फेरि देशको लागि दुर्भाग्य। अस्थिरताको श्रृङ्खला यो मुलुकमा अत्यन्त तिब्रतासाथ अगाडी बढ्यो। यसले फेरी राष्ट्रलाई गरिखान दिँदैन। हामीले विकास गर्नलाई यहाँ बसेर फेरि नपाउनेतिर जान लागेको मलाई चिन्ता भएको छ।’