पुस मसान्तभित्रै एकीकृत कारोबार सुरु गर्दै आधा दर्जन बैंक

मर्जर सम्झौता गरेका बैङ्कहरूले धमाधम एकीकृत कारोबारको तयारी थालेका छन्  । पुस मसान्तभित्रै एकीकृत कारोबार सुरु गर्ने गरी बैङ्कहरू लागि परेका हुन् । बढ्दो प्रतिस्पर्धासँगै व्यवसाय बढाउनुपर्ने परिस्थितिका कारण बैङ्कहरूलाई मर्जर बाध्यता बनेको थियो जस कारण एक दर्जन बैङ्कले मर्जर सम्झौता गरेका थिए ।
नबिल –नेपाल बङ्गलादेश बैङ्क, कुमारी –एनसीसी बैङ्क, नेपाल इन्भेष्टमेन्ट  – मेगा बैङ्क, हिमालयन – सिभिल बैङ्क, ग्लोबल आइएमई –बैङ्क अफ काठमाण्डू र प्रभु –सेञ्चुरी बैङ्कले एक आपसमा मर्जरमा जाने सम्झौता गरेका थिए । मर्जर सम्झौता गरेका नबिल बैङ्क–नेपाल बङ्गलादेश बैङ्क र कुमारी–एनसीसी बैङ्कले भने एकीकृत कारोबार सुरु गरिसकेका छन् ।
नबिल बैङ्कले गत असार २८ गते नै नेपाल बङ्गलादेश बैङ्कलाई गाभेर एकीकृत कारोबार सुरु गरेको थियो भने कुमारी र एनसीसी बैङ्कले भने गत आइतबार एकीकृत कारोबार सुरु गरेका हुन् ।  सरकारी नीति र नेपाल राष्ट्र बैङ्कको दबाबका कारणले पनि  बैङ्कहरू मर्जर सम्झौता गरेका थिए ।
मर्जर सम्झौता गरेका हिमालयन र सिभिल बैंकलेबाहेका बैङ्कले पुस महिनामै एकीकृत कारोबार गर्ने भएका छन् ।  यी दुई बैङ्कले भने माघमा एकीकृत कारोबार गर्ने भएका छन् ।  पुस महिनामै एकीकृत कारोबार गर्न सम्भव नरहेको बैङ्कले जनाएका छन् ।  मर्जर सम्झौता गरेका बैङ्कहरूलाई नेपाल राष्ट्र बैङ्कले मर्जरको अन्तिम स्वकृति प्रदान गरिसकेको छ ।
ग्लोबल आइएमई र बैङ्क अफ काठमाण्डू 
गत असार २ गते मर्जर सम्झौता गरेका ग्लोबल आइएमई र बैङ्क अफ काठमाण्डूको एकीकृत कारोबार पुस २५ गतेबाट हुने भएको छ । यी दुई बैङ्कलाई राष्ट्र बैङ्कले मर्जरको अन्तिम स्वकृति प्रदान गरिसकेको छ । गत मङ्सिर २३ गते भएको दुवै बैङ्कका साधारण सभाले मर्जरलाई अनुमोदन गरिसकेको छ । ग्लोबल र बिओकेबिच १:१को अनुपातमा मर्जर सम्झौता भएको थियो ।
मर्जरपछि बैङ्कको कुल पुँजी ५७ अर्ब रुपैयाँ कायम भएको छ । बैङ्कको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ, कुल निक्षेप चार खर्ब, कुल कर्जा तीन खर्ब ७९ अर्बभन्दा बढी पुगेको छ । बैङ्कको अध्यक्षमा चन्द्र ढकाल हुने छन् भने सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष ढकाल सहित ५ जना र बैङ्क अफ काठमाण्डूको तर्फबाट २ जना रहने बताइएको छ । त्यसै गरी बैङ्कको प्रमुख कार्यकारी अधिकृतको रूपमा ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले निरन्तरता पाउने छन्।् । यस्तै बैङ्कको नाम पनि ग्लोबल आइएमई बैङ्क नै रहने भएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैङ्क र मेगा बैङ्क
नेपाल इन्भेष्टमेन्ट बैङ्क र मेगा बैङ्क नेपालको एकीकृत कारोबार पुस २७ गतेबाट सुरु हुने भएको छ ।  यी दुई बैङ्कले गत  जेठ २७ गते मर्जर सम्झौता गरेका थिए ।  मर्जरपश्चात् बैङ्कको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्क हुनेछ । इन्भेष्टमेन्ट बैङ्कको १ सय कित्ता सेयर बराबर मेगा बैङ्कको ९० कित्ता बराबर (१ बराबर ०.९ प्रतिशत स्वाप रेसियो) हुने गरी मर्जर गरिने प्रारम्भिक सहमति भएको थियो । मर्जरपश्चात् बन्ने बैङ्कको सञ्चालकमा इन्भेष्टमेन्ट बैङ्कबाट ४ जना र मेगा बैङ्कबाट ३ जना सञ्चालक बन्ने सहमति भएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कको अध्यक्षमा पृथ्वी बहादुर पाँडेलाई बनाउने सहमति भएको छ । उनी हाल नेपाल इन्भेष्टमेन्ट बैङ्कका अध्यक्ष समेत हुन् ।
यस्तै, नेपाल इन्भेष्टमेन्ट बैङ्कबाट प्रजन्यराज भण्डारी र कवि टिव्रेवाला मर्जरपश्चात् सञ्चालक बन्नेछन् । त्यस्तै मेगा बैङ्कबाट गोपाल खनाल, मुक्तिराम पाण्डेय र मदन कुमार आचार्य मर्जरपश्चात् सञ्चालक बन्नेछन् । नेपाल इन्भेष्टमेन्ट बैङ्कले एक जना सञ्चालक भने टुङ्गो लगाउन बाँकी रहेको छ । मर्जरपश्चात् बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सिइओ) भने ज्योतिप्रकाश पाण्डेय बन्नेछन् । साथै, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत भने मेगा बैङ्कले पाउने सहमति भएको छ ।
प्रभु बैङ्क र सेञ्चुरी बैङ्क 
गत साउन १५ गते मर्जर सम्झौता गरेका प्रभु बैङ्क र सेञ्चुरी बैङ्कको एकीकृत कारोबार  पुस २९ गतेबाट सुरु हुने भएको छ ।  यी दुई बैङ्क १ :१ स्वाप रेसियोमा मर्जरमा जान लागेका हुन् । प्रभु र सेञ्चुरी बैङ्कको मर्जरको लागि बैङ्कका साधारण सभाले स्वीकृति दिइसेका छन् । मर्जरपश्चात् बैङ्कको नाम प्रभु बैङ्क हुने सम्झौता भएको छ । यस्तै बैङ्कको प्रमुख कार्यकारी अधिकृतमा प्रभु बैङ्कका हालका सिइओ अशोक शेरचनले निरन्तरता पाउने छन् । सेन्चुरीका मनोज न्यौपाने डेपुटी सिइओ बन्नेछन् ।
हिमालयन बैङ्क र सिभिल बैङ्क 
हिमालयन बैङ्कले सिभिल बैङ्कलाई प्राप्ति गरी आउँदो माघ १८ गतेबाट एकीकृत कारोबार गर्ने भएको छ ।  प्राप्ति प्रक्रियालाई स्वीकृत गर्न दुवै बैङ्कले यही पुस २८ गते आआफ्नो वार्षिक साधारण सभा डाकेका छन् ।  यी दुई बैङ्कबिच असार २९ गते प्राप्ति गर्नेसम्बन्धी प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । सम्झौतामा हिमालयन बैङ्कका तर्फबाट अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैङ्कका तर्फबाट अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गरेका थिए ।
हिमालयनले सिभिल बैङ्कलाई १००ः ८१ स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो। सम्झौताअनुसार प्राप्तिपछि बैङ्कको नाम हिमालयन बैङ्क लिमिटेड रहनेछ भने सञ्चालक समितिमा पनि हिमालयनकै सञ्चालक रहनेछन् । यस्तै सीईओमा पनि हिमालयन बैङ्कका अशोक शमशेर राणा रहनेछन्। सिभिल बैङ्कका सिइओ सुनिल पोखरेलले वरिष्ठ डेपुटी सीईओको जिम्मेवारी सम्हाल्नेछन् ।
हाल हिमालयन बैङ्कको चुक्ता पुँजी १२ अर्ब ९६ करोड रुपैयाँ रहेको छ। सिभिल बैङ्कको ९ अर्ब ७ करोड ५ लाख ४३ हजार ८९० रुपैयाँ रहेको छ । प्राप्तिपछि बैङ्कको कुल चुक्ता पुँजी २२ अर्ब रुपैयाँभन्दा बढी पुग्नेछ।
राष्ट्र बैङ्कले हिमालयन र सिभिल बैङ्कबिचको प्राप्ति प्रक्रियालाई गत साउन २३ गते नै सैद्धान्तिक सहमति प्रदान गरेको थियो ।