मर्जरका लागि छलफलमा लक्ष्मी र सनराइज बैंक

लक्ष्मी बैंक र सनराइज बैंक मर्जरका लागि छलफलमा जुटेका छन् । दुई बैंकबीच अर्काे साता गाभ्ने गाभिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नेगरी अन्तिम चरणको छलफल भइरहेको स्रोतले जनाएको छ ।  लक्ष्मी र सनराइज एक बराबर एकको अनुपातमा मर्ज हुने गरी छलफलमा छन् । मर्जपछि बन्ने बैंकको अध्यक्ष लक्ष्मीले पाउनेछ ।

सनराइज बैंक लामो समयदेखि सञ्चालक विवादमा फसेको थियो। सनराइज बैंकले सिर्जना फाइनान्स एक्वीजिशन गर्ने समझदारी गरेर पछि समझदारी तोडेको थियो । यही कारण केन्द्रिय बैंकले सनराइजलाई ३ वर्षसम्म शाखा विस्तार गर्न रोक लगाएको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत पुसभित्र मर्ज गरी एकीकृत कारोबार गरेमा विभिन्न सुविधा दिने उल्लेख छ । तर, अब मर्ज हुने संस्थाले मौद्रिक नीतिमा उल्लेखित सुविधा पाउने कि नपाउने भन्ने अन्योल रहेपछि दुवै बैंकका सञ्चालकहरू केन्द्रीय बैंकको शरणमा परेका थिए । तर मर्जर सम्झौता गरे नियामकीय सुविधा दिन राष्ट्र बैंकले लचकता देखाएपछि सनराइज र लक्ष्मी बैंक मर्जरमा जानका लागि अघि बढेका हुन् ।

पुस मसान्तभित्र मर्जर गरी एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म शाखा कार्यालय खोल्न राष्ट्र बैंकको स्वीकृति लिनु नपर्ने, उपत्यकामा एक शाखा खोल्न पनि राष्ट्र बैंकको स्वीकृत नचाहिने जनाइएको थियो । त्यस्तै कुल निक्षेपमा सरकारी संस्था एवं संस्थानहरु, पब्लिक लिमिटेड कम्पनीहरु, बचत तथा ऋण सहकारी संस्था तथा त्यस्ता संस्था एवं संस्थान मातहत सञ्चालित सञ्चालित कोषहरुको निक्षेपको अंश प्रति संस्था १० प्रतिशत बिन्दुले थप गर्ने पाउने राष्ट्र बैंकले बताउदैँ आएको थियो ।

यस्तै एक पटकका लागि प्रमुख कार्यकारी अधिकृतलाई ६५ वर्षको उमेरहद नलाग्ने न्यूनतम २५ प्रतिशत बराबर ऋणपत्र जारी गर्नु पर्ने समयावधि एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म थप गर्ने सुविधा दिने बताइएको थियो ।

यसअघि प्रभु बैंक र सेञ्चुरी कर्मसियल बैंक मर्ज भएर प्रभु बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक मर्ज भएर नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्ज भएर ग्लोबल आइएमई बैंकका रूपमा पुसभित्र एकीकृत कारोबार गर्ने कार्यसूची सार्वजनिक गरिसकेका छन्।

उता, हिमालयन बैंक र सिभिल बैंकले पनि मर्ज भएर माघ तेस्रो साता एकीकृत कारोबार गर्ने गरी तयारी गरिरहेका छन् ।  यस्तै कुमारी बैंक र एनसीसी बैंकले गत आइतबार एकीकृत कारोबार सुरु गरिसकेका छन् ।

https://www.tvannapurna.com/101565/2023/01/03/