डिजिटल सेवा र भुक्तानीलाई बढवा तथा प्रवर्धन दिने उद्देश्यका साथ माछापुच्छ्रे बैङ्क लिमिटेडले पाल्पास्थित भैरवनाथ मन्दिर व्यवस्थापन समितिमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ । उक्त भैरवनाथ मन्दिर पाल्पा तानसेनको एक प्रसिद्ध धार्मिक पर्यटकीय स्थल हो । उक्त मन्दिरमा बर्सेनि थुप्रै भक्तजनहरू आउने गरेका छन् भने विशेष गरि मंगलबार र शनिवार दर्शनार्थीहरुको भिडभाड हुने गर्दछ ।
डिजिटल बैंकिङ्गमा आक्रामक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैङ्कले पाल्पाको पवित्र तीर्थ स्थल भैरवनाथ मन्दिरमा शनिवार भएको एक औपचारिक कार्यक्रममा क्युआर कोड हस्तान्तरण गरेको थियो । उक्त क्युआर कोड रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्की र माछापुच्छ्रे बैङ्क लुम्बिनी प्रदेश नं ५ क्लस्टर ए का प्रमुख नारायण केसीमार्फत भैरवनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्द प्रसाद पोखरेल ज्युलाई संयुक्त रूपमा हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी, व्यापारी, सर्वसाधारण एवम् बैङ्कका कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
यो सेवा सञ्चालनमा आएपछि मन्दिरमा आउने दशनार्थीहरुले क्युआर कोड बाटै भेटी चढाउन सक्नेछन् । दर्शनार्थीहरुले क्यु।आर कोड सेवा निःशुल्क प्रयोग गर्न सक्नेछन् । नगदको विकल्पका रूपमा नवीन र प्रयोग गर्न अति नै सहज भएको कारण क्युआर कोडको प्रयोग आम मानिसमा बढ्दै गइरहेको छ ।
डिजिटल सेवालाई सुरक्षित र भरपर्दो बनाउन ओटिपी लगायत अन्य बैंकिङ्ग विवरण कसैसँग पनि सेयर नगर्न समेत बैङ्कले अपिल गरेको छ ।