काठमाडौँ – कठ्याङ्ग्रिदो चिसोका कारण देशभर जनजीवन प्रभावित बनेको छ । आज पनि देशका धेरै ठाउँमा हुस्सु कुहिरो लागेको छ ।पहाडी जिल्लामा भन्दा तराईका जिल्लामा हुस्सु कुहिरो बाक्लो छ ।
हुस्सु कुहिरोकै कारण आज पनि भिजिभिलिटी अर्थात दृश्य क्षमता घटेको छ । भिजिबिलिटी कम हुँदा आन्तरिकतर्फको उडान भने ठप्प भएको छ ।त्रिभुवन विमानस्थल कार्यालयले बाहिरी जिल्लाका विमानस्थलको मौसम खराब रहेकाले आन्तरिक उडान प्रभावित भएको जनाएको छ । आन्तरिक उडान प्रभावित भए पनि त्रिभुवन विमानस्थलबाट बाह्यतर्फको उडान भने भइरहेको छ ।
आज पहाडी जिल्लाको मौसम आंशिक बद्ली हुने अनुमान गरिएको छ भने हिमाली जिल्लामा हल्का हिमपात हुने मौसमवद् सजिना शाक्यले जानकारी दिनुभयो । यस्तै, तराईका जिल्लामा दिउँसोसम्म नै बाक्लो हुस्सु कुहिरोको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।