म्याग्दी – घुम्नैपर्ने विश्वका उत्कृष्ट २३ स्थानमा नेपालको मुस्ताङ पनि परेको छ । अमेरिकी समाचार च्यानल सिएनएनले सार्वजनिक गरेको सन् २०२३ मा घुम्नैपर्ने विश्वका विभिन्न देशका २३ स्थानहरुमध्ये नेपालको मुस्ताङलाई पनि समावेश भएको हो ।
सिएनएनले सार्वजनिक गरेको सूचीमा मुस्ताङको प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्वको संक्षिप्त वर्णन गरिएको छ ।मुस्ताङको वर्णन गर्दै सिएनएनले भनेको छ ‘हिमालय र भारतबीचको व्यापारलाई सहज बनाउन प्राचिन ट्रेलहरूबाट हिमाल पदयात्राका लागि प्रसिद्ध नेपालको अचम्मको मुस्ताङ उपत्यका तिब्बतको द्वारमा रहेको छ।’
मुस्ताङ पदयात्राका लागि त प्रख्यात छ नै। यहाँ घुम्न आउने पर्यटकहरूले प्राचिन गाउँहरू र बौद्ध गुम्बाहरू ‘एक्सप्लोर’ गर्न सक्ने सिएनएनले भनेको छ।मुस्ताङमा कालीगण्डकी नदी माथि रहेको मानव निर्मित गुफा २ हजार वर्ष पुराना बौद्ध मूर्तिकला र चित्रहरूले भरिएका छन्। मुस्ताङ आउँदै गर्दा यो पनि छुटाउन नहुने सिएनएनले बताएको छ।
चाँडै खुल्न लागेको शिन्ता मणि मुस्ताङका कारण पनि आगामी महिनाहरूमा यो दुर्गम गन्तव्यबारे धेरै कुरा सुन्न पाइने आशा गरिएको छ मुस्ताङ उपत्यका पुग्नु साहसिक अनि रोमाञ्चक कार्य हो। राजधानी काठमाडौंबाट पोखराको लागि २५ मिनेटको उडान र त्यसपछि अर्को २० मिनेटको उडानमा जोमसोमको यात्रा गरेर पनि यात्रीहरूले मुस्ताङ जान सक्नेछन्।
बसमा यात्रा गर्न चाहनेहरू भने काठमाडौंबाट १२ घन्टाको यात्रामा मनोरम अनि सुन्दर दृश्यहरू हेर्दै गन्तव्यमा पुग्न सक्नेछन्।सूचीमा पोल्यान्ड, पश्चिम अष्ट्रेलिया, बेलायतको लिभरपुल, साउथ क्यारोलिनाको चार्लेस्टन, लिथुआनियाको भिलनियस, फिजी, ब्राजिलको मानाउस पनि परेको छ।
सूचीमा रहेका अन्य घुम्नैपर्ने ठाउँमा ग्रिसको थेसालोनिकी, रुवान्डा, स्वीडेनको गोथेनबर्ग, यूएईको रास अल–खाइमाह, लाओस, स्वीटजरल्यान्डको ग्रुयर्स, मिनेसोटाको मिनिआपोलिस, कोलम्बिया बोगाटा, तान्जानिया, इजिप्टको कायरो, जापानको नाओशिमा, बेलिज, मेक्सिकोको ओआसाका, क्यानडाको ओट्टावा, युगन्डा पनि सूचीमा छन्।
यसैगरी, गएको वर्षको अन्त्यसम्ममा अन्तर्राट्रिय पयर्टन कोभिडको महामारी सुरु हुनुअघिको भन्दा ६५ प्रतिशत आसपास पुगेको हुन सक्ने अनुमान संयुक्त राष्ट्रसंघको विश्व पयर्टन संगठनको छ।केही क्षेत्रमा पयर्टन सन् २०१९ को तुलनामा ८०–९० प्रतिशतको हाराहारीमा पुगिसकेको तथ्यांक सार्वजनिक भएका छन्।