थ्रेसहोल्ड नकटाए पनि कुनै फरक परेको छैन : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले थ्रेसहोल्ड नकटाए पनि कुनै फरक नपरेको बताएका छन् ।युवा संघ नेपालले काठमाडौंमा आयोजना गरको कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नै नेता-कार्यकर्ताको कारणले राष्ट्रिय पार्टी बन्न नसकेको बताए ।

उनले राष्ट्रिय पार्टी नबने पनि पार्टीका सांसदहरूलाई ह्वीप लाग्ने बताए । सबै एकजुट भएर लाग्न सकेको भए २५ सीट आसपास पुग्नसक्ने देखिएको नेता नेपालको दाबी छ ।

‘हामीले १० सीट जितेका छौँ । हामी आफ्नो कमजोरीले मत बाकसमा खसाल्न सकेनौँ । जनताको मत हाम्रो पक्षमा नभएको होइन । हाम्रो नेता कार्यकर्ताहरू जान सकेनन् । हाम्रो नेता कार्यकर्ताको कारणले हामीले ३ प्रतिशत कटाउन सकेनौँ’ उनले भने, ‘तर, थ्रेसहोल्ड नकटाए पनि हामीलाई केही पनि छैन । थ्रेसहोल्ड पार गरेको भए हामीलाई हेलिकप्टर दिन्थ्यो कि हवाइजहाज दिन्थ्यो कि ? केही दिनेवाला थिए । पार्टी अफिस वा रकम दिने भन्ने पनि केही कुरा छैन ।’