धनगढी : नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेतामा कमलबहादुर शाह चयन भएका छन्। बुधवार शाह दलको नेतामा सर्वसम्मत चयन भएका हुन्।
कैलालीका शाह दलको नेतामा सर्वसम्मत चयन भएको प्रदेश महामन्त्री मेघराज खड्काले जानकारी दिए। उनी कैलाली निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (क) बाट निर्वाचित भएका थिए।
दलको नेतामा आकांक्षी रहेका आफूसहितका अन्यले शाहलाई समर्थन गरेपछि उनी सर्वसम्मत चयन भएको खड्काले बताए। कांग्रेस संसदीय दलको नेतामा बहादुरसिंह थापा‚ दिवानसिंह विष्ट‚ मेघराज खड्का‚ प्रकाश देउवासहितका ७ जनाले आकांक्षा राखेका थिए।
शाह महासमिति सदस्य समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाका भतिजा प्रकाशको समर्थनमा दलको नेता बनेका हुन्। मंगलवार बसेको प्रदेश पदाधिकारीको बैठकले दलको नेतामा आकांक्षीहरूलाई सर्वसम्मत चयन गर्न सुझाव दिएको थियो तर सहमति नजुटेपछि प्रदेश उपसभापति लोकराज अवस्थीको संयोजकत्वमा निर्वाचन समिति बनाइएको थियो।