महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशका पाँच सीमा नाकामा कोरोना परीक्षणलाई तीव्रता दिइएको छ । यहाँ भारतसँग सीमा नाका जोडिएका कैलाली, कञ्चनपुरसहित पहाडी जिल्ला बैतडी र दार्चुलामा गरी पाँच नाकामा कोरोना परीक्षण हुँदै आएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
भारत, चीनलगायत छिमेकीमुलुकमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण फैलिइरहेकोप्रति सतर्कता अपनाउँदै यहाँ भारतबाट स्वदेश फर्किने नेपाली नागरिकको नियमित नाकामा परीक्षण हुने गरेको स्वास्थ्य निर्देशनालयका महामारी समर्पक व्यक्ति हेमराज जोशीले जानकारी दिए ।
‘छिमेकी मुलुकमा नयाँ खालको भेरियन्ट फैलिएसँगै हामीले पनि सङ्क्रमण जाँचलाई सीमानाकामा तीव्र गतिमा हेरिरहेका छौँ’, जोशीले भने, ‘नयाँ भेरियन्ट फैलिन सक्नेप्रति सबै सचेत हुनुपर्छ ।’ उनले कैलालीको त्रिनगर भन्सार र खक्रौला नाकाका साथै कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाट नाकामा कोरोना परीक्षण हुने गरेको बताए । ‘सबै नाकामा दक्ष स्वास्थ्यकर्मीको टोली परीक्षणमा कोरोनाको पहिलो कहरबाटै खटिएको छ’, उनले भने, ‘नयाँ सङ्क्रमण आउनसक्ने विषयमा प्रदेश सरकार पनि सर्तकता र महामारी न्यूनीकरणका लागि काम अघि बढाइरहेको छ ।’