चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योग ढकालको कैद माफीविरुद्ध दायर भएको रिटमाथि सुनुवाइका लागि बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासमा पेसी तोकिएको छ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरू आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा पेसी तोकिएको छ । रिटको सुनुवाइको पालो दोस्रो नम्बरमा रहेको छ ।
कैद माफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध चेतनकी श्रीमती भारती मानन्धरले सर्वोच्चमा रिट दर्ता गरेकी थिइन् ।
सर्वोच्चले असोज १८ गते रिटमाथि प्रारम्भिक सुनुवाइ गरेको थियो । सुनुवाइमा सर्वोच्चले कैद मिनाहाको विषयलाई गम्भीर रूपमा लिँदै यस मुद्दाको पेसी स्थगित नहुने जनाएको थियो ।
रिगलसहितको समूहले २०७२ असार २८ गते नेपालगन्जको सुर्खेत रोडस्थित धम्बोझी चोकनजिक नेपालगन्ज उपमहानगरपालिका–८ का २९ वर्षीय चेतन मानन्धरको खुँडा प्रहार गरी हत्या गरेको थियो । मानन्धर हत्याको १ महिनापछि २०७२ भदौ ७ गते रिगलले अदालतमा आत्मसमर्पण गरेका थिए । त्यतिबेला उनी नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको बाँके क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति थिए ।