दुई किलो चिनी किन्न धादिङदेखि काठमाडौं

बजारमा चिनी अभाव भएपछि काठमाडौंको सुपथ मूल्य पसलमा धादिङदेखि मानिसहरु दुई किलो चिनी किन्नका लागि काठमाडौं आएका छन् । नेपालीको मुख्य चाड दसैं, तिहार र छठको समयमा बजारमा चिनी अभाव भएपछि धादिङ छत्रेदेउरालीका साधुरामप्रसाद भट्टराई सरकारले काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसनमा आएका हुन् ।

दसैं, तिहार र छठमा नेपालीले ठूलो मात्रामा चिनी प्रयोग गर्ने समयमा सरकारले दायित्व निभाउन नसकेको भट्टराईले बताए । उनले मुख्य चाडपर्वको समयमा दुई किलो चिनी खरिद गर्न धादिङदेखि काठमाडौं आउनुपर्ने बाध्यता सरकारको लापरवाहीकै कारण भएको भन्दै आक्रोश व्यक्त गरे । उनले चिनी लगायत दैनिक उपभोग्य वस्तुको उपलब्धता सयमा नै गराउनु राज्यको दायित्व भएको भन्दै राज्यले जनताप्रतिको दायित्व बिर्सेको आरोप लगाए ।

भट्टराईले धादिङका खाद्यन्न पसलहरुमा चिनी नपाएको र पाएपनि किलोको १६० रुपैयाँसम्म पर्ने गरेको बताए । उनले जन्मेदेखि पहिलो पटक धादिङबाट दुई किलो चिनी किन्न काठमाडौंमा आउनु परेको सुनाए । त्यस्तै, सहुलियत पसलमा चिनी किन्न लाइनमा बसेकी सावित्रा उप्रेतीले चिनी किन्न दुई घण्टा लाइन लाग्नुपरेका बताइन् ।

उनले नेपालीको मुख्य चाड दसैं, तिहार र छठ आउने समयमा सरकारले आवश्यकतालाई हेरेर समयमा नै उपलब्धता गराउन नसक्नु जनतालाई दुःख दिनुभएको बताइन् । उनले सरकारले सञ्चालन गरेको सहुलियत पसल भन्दा बाहिरका पसलहरुमा चिनी नपाएको भन्दै दुई किलो भए पनि लाइन बसेर लिन आएको बताइन् । उनले सरकार जनताप्रति उत्तरदायी नहुँदा हेरक वर्ष ग्यास, चिनी, नुन लगायत अन्य खाद्यन्नको अभाव झेल्दै आएको भन्दै जनतालाई सधैँ सास्ती मात्रै दिएको बताइन् ।

यता साल्ट ट्रेडिङ कर्पोरेसनका विभागीय निर्देशक ब्रजेशकुमार झाले सरकारले आन्तरिक बजारबाट उपलब्ध गराएको ७० टन चिनी भएसम्म उपभोक्तालाई दुई केजी उपलब्ध गराउने बताए । उनले सरकारले चाडपर्व लक्षित सञ्चालनमा आएका सहुलियत पसलमा लाइनमा बस्ने उपभोक्ताहरुलाई खाली हात पठाउने बताए । उनले लाइनमा बस्ने उपभोक्ताहरुले अनिवार्य दुई केजी चिनी पाउने जानकारी दिए । उनले चिनी अभावको कारणले सहुलियत पसलहरुमा चिनी किन्न आउने उपभोक्ताहरुको भीड रहेको बताए । उनले चिनी अभाव हुने विषयमा गत जेठ महिनामा नेपाल सरकारसँग आग्रह गरेपनि सरकारले तत्कालिन समय स्वीकृति नदिँदा चिनीमा समस्या आएको बताए ।

सरकारले समयमा नै स्वीकृत दिएको भए समयमा चिनी आयात हुँदा अभाव झेल्न पर्ने अवस्था आउने थिएन, उनले भने । उनले सरकारले भदौ २७ गते निर्णय गरेर १० हजार मेट्रिक टन साल्ट ट्रेडिङ कर्पोरेसन र १० हजार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई स्वीकृत दिएपनि भारतमा चिनी निर्यातमा रोक लगाएको कारण समस्या भएको बताए । उनले चिनी खरिद प्रक्रिया अगाडि बढाएपनि चाडपर्वमा ल्याउन नसकिएको बताए ।

उनले सरकारले आन्तरिक बजारबाट तत्कालको ७० टन चिनी २ केजीको दरले उपभोक्तालाई दिन उपलब्ध गएर ९७ रुपैयाँ प्रतिकेजीको दरले काठमाडौंका ८ वटै आउटलेटबाट बिक्री गरिरहेको बताए ।

चाडपर्वमा जनताले दुई किलो चिनी पाउन समेत विभिन्न समस्या झेल्नुपर्ने बाध्यता सरकारको लाचारीपनका कारण भएको हो । हरेक वर्ष चाडपर्वमा नागरिकहरुले मूल्य वृद्धि र सामान अभाव झेल्नुपर्ने समस्या समाधानका लागि सरकारले समयमा नै सोच्नुपर्ने अवस्था आएको छ ।

सम्बन्धित समाचार