काठमाडौं : विश्वकप छनोटको फाइनलमा नेपाल ओमानसँग पराजित बनेको छ । सुपर ओभरमा पुगेको खेलमा नेपाल पराजित भएको हो। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ८४ रनको योगफल बनाएको थियो ।
ओमानले पनि निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रन बनाएपछि खेल सुपरओभरमा पुगेको थियो । सुपरओभरमा ओमानले २१ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको नेपालले जम्मा १० रन बनायो ।
यद्यपी नेपाल दश वर्षपछि टी-२० विश्वकपमा छनोट भने भइसकेको छ । आईसीसी टी–२० आई विश्वकप एसिया छनोट अन्तर्गत सेमिफाइनलमा शुक्रबार युएईलाई ८ विकेटले हराउँदै नेपालले विश्वकपमा स्थान सुरक्षित बनाएको हो । अब नेपालले सन् २०२४ जुनमा अमेरिका र वेष्टइण्डिजमा हुने टी २० विश्वकप खेल्नेछ।