पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको राजनीति अकं र आकार प्रकारमा अलमलिएको बताएका छन् । बिचार आदर्श र सैद्धान्तिक निष्ठा भन्दा अकं तथा आकार प्रकारमा राजनीति अलमलिएको शाहको भनाइ छ ।
३०१ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै शाहले नेपालमा एकता,अखण्डता,सामाजिक सद्भाव र सार्वभौमिक सर्वोच्चता दुर्लभ हुँदै गएको बताएका छन् । शाहले मुलुकको राज्य पद्धति र प्रणाली सही प्रकारले पुनरावलोकन हुनु आवश्यक रहेको समेत उल्लेख गरेका छन् ।
पूर्वराजा शाहले विज्ञप्तिमा देश आफ्नै बाहुबल, मौलिक मान्यता, आफ्नै शैली र ढाँचामा अघि बढोस् भन्ने आफ्नो चाहना रहेको बताउँदै राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त मात्र हुने पनि उल्लेख गरेका छन् ।
‘हामीले श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहका दिव्योपदेशहरुलाई आत्मसाथ गर्दै मौसुफले दर्शाइबक्सेको मार्गदर्शनलाई अनुसरण गर्न सकेको खण्डमा मात्र हाम्रो इतिहास र भविष्य तथा नेपालीको स्वाभिमान सुरक्षित एवम् संरक्षित हुनसक्छ भन्ने विश्वास लिएका छौँ ।’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त मात्र हुने उनको भनाई छ । ‘राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त मात्र हुन्छ भन्ने हामीले ठानेका छौ । सेवा र सुरक्षा दिन नसक्ने प्रजातन्त्रको जुनसुकै नाम र आवरणमा अभ्यास गरे पनि यसबाट राष्ट्रमा सुख हुन सक्ने छैन ‘ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्र, राष्ट्रियता र जनहितप्रति समर्पित रहँदै समन्वयकारी जिम्मेवारी पुरा गर्न शाह वंशीय राजसंस्था नचुकेको उनको भनाई छ ।















