पीडित खुला आकाशमुनि भोको पेट, राष्ट्रपतिले हात हल्लाएको ६० लाख

सरकारले देशविदेशबाट भूकम्पपीडितलाई राहत जुटाइरहेका बेला राष्ट्रपति रामचन्द्र पौडेलले राज्यको ६० लाख खर्चिएर प्रभावित क्षेत्रमा हात हल्लाउन पुगेपछि यसको चौतर्फी आलोचना भएको छ । १ सय ५७ जनाको ज्यान जाने गरि शुक्रबार आएको भूकम्पमा १७ हजार घर भत्किँदा खुला आकाशमा रात कटाइरहेका प्रभावित क्षेत्रमा राष्ट्रपति मंगलबार पुगेर फर्किएका थिए । सेनाको हेलिकप्टरमा चढेर जाजरकोट र रुकुममा पुगेर फर्किएका राष्ट्रपतिका लागि राज्यले झन्डै ६० लाख खर्च भएको बुझिएको छ । यद्यपि खर्चको विवरण भने सार्वजनिक भएको छैन् ।

सामान्यतया राष्ट्रपति चढेर गएको सेनाको एमआई हेलिकप्टर चढ्दा प्रतिघण्टा १२ लाख भाडा तिर्नुपर्ने व्यवस्था छ । बिहान ९ बजे हेलिकप्टरमा चढेर राष्ट्रपति पौडेल जाजरकोट पुगेका थिए । जाजरकोटसम्म हेलिमा पुगेका राष्ट्रपति पौडेलले प्रभावित क्षेत्रमा केही घण्टा बसेर रुकुम पुगेको र त्यहाँ पुगेर फोटो खिचेर फर्किँदा ८ घण्टा खर्चिएको थियो । झन्डै ७ घण्टा हेलिकप्टरमार्फत भूकम्प प्रभावित क्षेत्र घुमेर फर्किँदा राष्ट्रपति भाडा मात्रै ८४ लाख तिर्नुपर्ने देखिन्छ । यद्यपि भिभिआइपीका लागि नेपाली सेनाले हेलिकप्टरको न्यूनतम शुल्क लिने गरेकाले प्रतिघण्टा ८ लाखका दरले बिल पेस गर्न सक्ने यसका जानकारहरू बताउँछन् ।

हेलिकप्टरमा सचिवालयका सदस्यसहित पुगेका पौडेलको स्वागत र भोजनका लागि समेत भएको खर्चलाई जोडने हो भने राष्ट्रपतिले प्रभावित क्षेत्रमा हात हल्लाएको खर्च मात्रै ६० लाख बढी भएको छ । यसबाहेक भिभिआइपी सवारीमा सुरक्षा सर्तकताका लागि भन्दै अर्को एउटा हेलिकप्टर तयारी राख्नुपर्ने प्रोटोकल छ । मङ्गलवारको भ्रमणमा नेपाली सेनाको अर्को अकास्टा हेलिकप्टर राष्ट्रपतिको सवारीका लागि तयारी आइपर्ने अप्ठ्यारोका लागि तयारी राखेको थियो । यसको समेत भाडा जोड्नु परे खर्च दोब्बर हुनेछ । यद्यपि अहिलेसम्म बिल सार्वजनिक नभएकाले खर्चको यकिन विवरण भने प्राप्त भएको छैन ।

राष्ट्रपति सवारीका लागि सेनाका दुईवटै हेलिकप्टर प्रयोग हुँदा मंगलबार राहत वितरणमा समेत समस्या भएको थियो । उता भूकम्प प्रभावित क्षेत्रमा रहेर काम गरिरहेका सरकारका उपप्रधान तथा रक्षामन्त्री पूर्ण बहादुर खड्काले समेत राहत तथा उद्धारमा राजनीतिक पूर्वाग्रह राखेको आरोप लागेको छ । राहत र उद्धारका लागि गएका हेलिकप्टरमा आफ्नो पार्टी निकटका सामान्य घाईतलाई समेत हेलिकप्टरमार्फत काठमाण्डौं झिकाएको तर काठमाडौँ पठाउनुपर्ने बिरामीले हेलिकप्टर सुविधा नपाएको भन्दै पीडितले आइतबार नै आक्रोश पोखेका थिए ।

सम्बन्धित समाचार