इंग्लिस क्लब आर्सनल, जर्मन क्लब वायर्न म्युनिख र स्पेनिस क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेका छन् ।
सेभिल्लालाई २-० गोलले पराजित गर्दै आर्सनल, गलातासरेलाई २-१ गोलले पराजित गर्दै वायर्न र ब्रागालाई ३-० गोलले पराजित गर्दै रियल मड्रिड च्याम्पियन्स लिगको नक आउट चरणमा पुगेको हो ।
सेभिल्लालाई पराजित गर्न आर्सनलका लिन्ड्रो ट्रोसार्डले २९ मिनेटमा र बुकायो शाकाले ६४ मिनेटमा गोल गरेका थिए ।
ब्रागाविरूद्ध ३ गोल गरेको रियलका लागि ब्रहिम डियाजले २७ मिनेटमा, भिनिसियस जुनियरले ५८ औं मिनेटमा र रोड्रिगो ६१ औं मिनेटमा गोल गरेका थिए ।
गलातासरेविरूद्ध वायर्नको दुबै गोल ह्यारी केनले गरेका हुन् । केनले ८० र ८६ औं मिनेटमा गोल गरेका थिए । इन्ज्युरी समयमा गलातासरेका सेड्रिक बकम्बुले एक गोल फर्काएका थिए ।
वायर्न समूह ‘ए’, आर्सनल समूह ‘बी’र रियल मड्रिड समूह ‘सी’को शीर्ष स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेका हुन् । रियल र वायर्न जारी सिजनमा अपराजित छन् भने आर्सनल एक खेलमा पराजित भएको थियो ।
यसअघि म्यानचेष्टर सिटी पनि लिगको नक आउट चरणमा प्रवेश गरिसकेको छ ।