नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘को–हजबेन्ड’ (सहायक श्रीमान) ले क्यानडामा नगद पुरस्कारसहित उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको छ ।
क्यानडाको टोरोन्टोमा आयोजित ३६ वर्ष पुरानो प्रतिष्ठित सोसाइटी अफ भिजुअल इन्थ्रोपोलोजी फिल्म एण्ड मिडिया फेस्टिबलमा को–हजबेण्डले तीन सय अमेरिकी डलरसहित आज उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको हो ।
मेन्ट्रो टोरोन्टो सम्मेलन केन्द्रमा आज आयोजित अवार्ड समारोहमा फिल्म फेस्टिबलका सहनिर्देशकद्वय युनिभर्सिटी अफ साउर्दन क्यालिफोर्नियाकी एशोशियट प्रोफेसर जेनिफर कुल र युनिभर्सिटी अफ कोलारोड बोउल्डरका एशोशियट प्रोफेसर क्रिश्चियन ह्यामन्सले को–हजबेण्डका निर्देशक गणेश पाण्डे र निर्मात्री शारदा गैरेलाई पुरस्कार हस्तान्तरण गरेका थिए ।
अवार्ड समारोहमा प्रवासी नेपाली मञ्च क्यानडाका अध्यक्ष विश्वम्भर घिमिरे पनि सहभागी थिए । अमेरिकन एन्थ्रोपोलिजिकल एशोशियन र क्यानेडियन एन्थ्रोपोलोजी सोसाइटीले ३६ बर्षदेखि हरेक वर्ष अन्तर्राष्ट्रिय सम्मेलनसँगै फिल्म र मिडिया महोत्सव गर्दै आएको छ ।
अमेरिका र क्यानडासहित विश्वका विभिन्न देशबाट ५ हजार जना मानवशास्त्रीहरुको सहभागितामा यस वर्ष टोरोन्टो सम्मेलन केन्द्रमा सम्मेलनका साथै फिल्म र मिडिया महोत्सव भइरहेको छ ।
उक्त महोत्सवमा संसारभरीबाट मानवशास्त्र र समाजशास्त्रसँग सम्बन्धित हजारौं चलचित्र तथा वृत्तचित्रहरुको प्रतिस्पर्धामा उत्कृष्ट ठहर गरी नेपालको विशिष्ट परिवेशमा बनेको जीवन्त वृत्तचित्र को–हजबेण्डलाई उत्कृष्ट अवार्ड घोषणा गरिएको थियो ।
यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको हो ।