पाकिस्तानी टोलीको बलिङ प्रशिक्षकमा दुई पूर्वक्रिकेटर नियुक्त

एजेन्सी । विश्वकपमा खराब प्रदर्शन गरेपछि टोलीमा ठुलो परिवर्तन गरिरहेको पाकिस्तानी टोलीले प्रशिक्षकमा दुई पूर्व क्रिकेटर नियुक्त गरेको छ ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)का अनुसार उमर गुल र सइद अजमल पाकिस्तानी टोलीको बलिङ प्रशिक्षक नियुक्त भएका हुन् ।

पाकिस्तानी टोलीले डिसेम्बरमा अष्ट्रेलिया भ्रमण गर्नेछ । जहाँ टोलीले तीन टेस्ट र पाँच ट्वान्टी-२० खेल खेल्नुपर्नेछ। पाकिस्तानको टेस्ट टिमको कमाण्ड शान मसूदलाई सुम्पिएको छ । सोमबार मात्रै टोली घोषणा गरिएको छ ।

गुल र अजमलको करियर कस्तो छ ?

उमर गुल कुनै समय पाकिस्तानी टिमका नियमित सदस्य थिए । उनले सन् २००३ देखि २०१६ सम्म पाकिस्तानका लागि खेलेका थिए । दाहिने हाते तीव्र गतिका बलर गुलले पाकिस्तानका लागि ४७ टेस्टमा १६३ विकेट, १३० एकदिवसीय खेलमा १७९ विकेट र ६० टी-२० खेलमा ८५ विकेट लिएका छन्।

सइद अजमल अफ स्पिनर थिए। उनले सन् २००९ देखि २०१५ सम्म पाकिस्तानका लागि ३५ टेस्ट, ११३ एकदिवसीय र ६४ टी-२० खेल खेलेका थिए।उनले टेस्ट खेलमा १७८, एकदिवसीयमा १८४ र टी–२० मा ८५ विकेट लिएका छन् ।

सम्बन्धित समाचार