एसियाली विश्वकप छनोट दोस्रो चरण :  घरेलु मैदानमा यमनसँग हार्‍यो नेपाल

फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । समूह एच अन्तर्गत मंगलबार घरेलु मैदानमै नेपाल यमनसँग २–० ले पराजित भएको हो । १३ हजार भन्दा बढी दर्शकमाझ घरेलु मैदानमा नेपालले यमनविरुद्ध सन्तोषजनक प्रदर्शन गर्न सकेन ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा यमनलाई जित दिलाउन वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ओमार अब्दुल्लाह अल-दाही र मोहम्मद अब्दुल्लाह अल-दाहीले दोस्रो हाफमा गोल गरे । खेलको ७१ औं मिनेटमा कप्तान ओमार अब्दुल्लाह अल धानीले गोल गर्दै यमनलाई अघि बढाएका थिए । खेल सकिन एक मिनेट अघि काउन्टर अट्याकमा अब्दुल्लाह अल धानीले गोल गर्दै यमनको जित सुनिश्चित गरेका थिए ।

नेपालले यमनविरुद्ध खेल अवधिभर खासै आक्रमण बुन्न सकेन । खेलमा निकै छरितो देखिएको यमनले दोस्रो हाफको अन्तिम तिर नेपालमाथि दबाब बनाएको थियो । नेपालका डिफेन्डर अनन्त तामाङ चोट बोक्दै मैदान बाहिरिएका थिए । उनलाई स्ट्रेचर राखेर मैदान बाहिर लगिएको थियो ।

नेपालले विश्वकप छनोटको दोस्रो चरणमा यमनविरुद्ध पहिलो लेगको खेल दशरथ रंगशालामा खेलेको हो । दोस्रो लेगको खेल नेपालले यमनको घरेलु मैदानमा खेल्नेछ । नेपालले दोस्रो चरणको छनोटमा यूएईसँग पहिलो खेल ४(० ले गुमाएको थियो । समूह चरणको दोस्रो खेल यमनसँग हारेको छ ।

सम्बन्धित समाचार