माराकाना रंगशालामा ब्राजिल र अर्जेन्टिनाका समर्थकहरूबीच कुटाकुट

ब्राजिलको रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा दुई देशका समर्थकहरूबीच कुटाकुट भएको छ । फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा चिरप्रतिद्वन्द्वी ब्राजिल र अर्जेन्टिनाका समर्थकहरूबीच कुटाकुट भएको हो । खेल सुरू हुनअघि दुई देशका समर्थकहरूबीच कुटाकुट भएपछि खेल आधा घन्टा अवरूद्ध भएको थियो ।

बिहान सवा ६ बजे खेल सुरू हुनुभन्दा केही बेरअगाडि दुई देशका समर्थक समूहबीच हानाहान भएपछि माराकाना रंगशाला केहीबेर तनावग्रस्त बन्यो । दुबै टोली मैदानमा उत्रिएर राष्ट्रिय गान सकिएलगत्तै फ्यानहरूबीच कुटाकुट भएको थियो ।

दुई देशका समर्थकहरू कुटाकुट गर्दा केही व्यक्तिहरू घाइते समेत भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन हम्मेहम्मे परेपछि त्यहाँ खटिएका सुरक्षाकर्मीले लाठी चार्ज गरेका थिए । माहोल शान्त नबनेपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी आफ्ना खेलाडीसहित मैदानबाट बाहिरिएर ड्रेसिङ रूममा गएका थिए । ब्राजिलका फ्यानहरूले मेस्सी पिचमा फर्किएपछि पनि उनको विरुद्धमा नारा लगाए । अहिले ब्राजिल र अर्जेन्टिना बिच खेल भइरहेको छ । दुवै टोली अहिलेसम्म गोलरहित छन् ।

दक्षिण अमेरिकी विश्वकप छनोटमा अर्जेन्टिना पाँच खेलमा १२ अंकसहित अग्रस्थानमा छ । ब्राजिल पाँचौं स्थानमा छ । १० टोलीको राउण्ड रोबिन प्रतियोगितामा दुवै टोलीले यसअघिका खेलहरू हारेका थिए।

सम्बन्धित समाचार