टी-२० विश्वकपका लागि नामिबिया छनोट

नामिबिया २०२४ को टी २० विश्वकपका लागि छनोट भएको छ । मंगलबार तान्जानियालाई ५८ रनले पराजित गर्दै नामिबियाले सन् २०२४ को टी २० विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो । विश्वकप छनोटमा नामिबियाको यो लगातार पाचौं जित हो । ५ जितमा १० अंक हासिल गरेको नामिबिया अंक तालिकाको शीर्ष स्थानमा रहेको छ र अब छनोटअन्तर्गत एक खेल खेल्न बाँकी रहदै विश्वकपका लागि स्थान पक्का गरेको छ ।

नामिबियाले अब बिहीबार नाइजेरियासँग खेल्ने तालिका रहेको छ । त्यस्तै, अब अफ्रिका क्षेत्रबाट अर्को एक स्थानका लागि युगान्डा, केन्या र जिम्बाब्वे प्रतिस्पर्धामा रहेका छन् । युगान्डा र केन्याको ४ खेलबाट समान ६ अंक रहेको छ र दुबैको सम्भावना उत्तिकै रहेको छ । अहिले रनरेटको आधारमा युगान्डा दोस्रो र केन्या तेस्रो स्थानमा रहेका छन् ।

त्यस्तै, टेस्ट राष्ट्र जिम्बाब्वेको ४ खेलमा ४ अंक रहेको छ । जिम्बाब्वेको पनि विश्वकप छनौटको सम्भावना कायमै रहेको छ । अफ्रीका छनौटबाट २ देश विश्वकपमा छनोट हुने प्रावधान छ । जसमा ७ देशले प्रतिस्पर्धा गर्दैछन् । अफ्रिका छनोटमा नामिबिया र जिम्बाब्वेसहित युगान्डा, केन्या, नाइजेरिया, रुवाण्डा र तान्जानिया सहभागी छन् ।

सम्बन्धित समाचार