रुस युक्रेन युद्धमा तीन जना नेपालीको ज्यान गएको घटना ९ दिनपछि सार्वजनिक भएको छ । रुसको मस्कोमा रहेको नेपाली दूतावासले गत (मंसिर) ८ गते सूचना निकालेर रुसी सेनामा कार्यरत रहेका तीन जना नेपालीको कात्तिक २९ गते ज्यान गएको जानकारी गराएको हो ।
युद्धका क्रममा स्याङ्जा पुतलीबजार-५ ठूलास्वाराका प्रितम कार्की, दोलखाको मेलुङ-६ सुनापती टोलका राज कुमार रोका र इलाम-५ इलामका गंगाराज मोक्तानको मृत्यु भएको मस्कोस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रमा उल्लेख छ ।
नेपाली दूतावासले रुसी सेनामा कार्यरत उनीहरुको ज्यान कुन अवस्थामा गएको भन्ने जानकारी भने उल्लेख गरेको छैन । मस्कोस्थित नेपाली दूतावासले मंसिर ८ गते काठमाडौंको त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागलाई पत्र लेखेर उनीहरुको शव व्यवस्थापनका लागि परिवारसँग समन्वय गर्नुपर्ने भएकाले सम्पर्क स्थापनाका लागि सहजीकरण गरिदिन अनुरोध गरेपछि मात्र रुसी सेनामा कार्यरत नेपालीहरुको मृत्यु भएको खुलेको हो ।
परराष्ट्र मन्त्रालयले घटनाको बारेमा जानकारी लिने प्रयास भइरहेको प्रतिक्रिया दिएको छ । रुस युक्रेनबीच २०७८ साल फागुन १२ गतेदेखि युद्ध चलिरहेको छ । युद्धका कारण लाखौँ मानिस विस्थापित भएका छन् भने झण्डै १० हजार मानिसको ज्यान गएको छ ।