केपी ओली कपको फाइनलमा आर्मी र मधेश प्रदेश भिड्ने

पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि मधेश प्रदेश र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् ।

बिहीबार भएको खेलमा विभागीय टोली एपीएफ क्लबलाई ११ रनले हराउँदै मधेशले आर्मीसँगको भेट पक्का गरेको हो ।

मधेश प्रदेशले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको एपीएफले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८६ रन मात्र बनाउन सक्यो ।

एपीएफका कप्तान तथा ओपनर प्रदीप ऐरि र सन्दीप जोराले अर्धशतक प्रहार गरेपनि टोलीको हार जोगाउन सकेनन् ।

४२ बलमा ३ चौका ४ छक्का मद्धतमा ५५ रन बनाउँदै बोल्ड आउट भए । सन्दीप ३१ बलमा ३ चौका र ५ छक्का हान्दै ५४ रन बनाउँदा क्याच आउट भए । लोकेश बम ३२ रनमा क्याच आउट भए । सुमित महर्जन १३ रनमा क्याच आउट हुन पुगे । भुवन कार्की ११ रनमा नटआउट रहे ।

तेस्रो विकेटका लागि सन्दीप जोरा र प्रदीप ऐरिले १०६ रनको साझेदारी गर्दै इनिङस् सम्हालेका थिए । तर त्यसपछि लगातार विकेट पतन हुँदा एपीएफ जित नजिक पुगेर पनि टाढिएको हो ।

मधेशका लागि विशाल पटेलले ३ विकेट लिए । हरिशंकर शाह र प्रदिप पासवानले समान २ विकेट लिए ।

त्यसअघि पोखरा रंगशाला भित्र रहेको क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९७ रनको योगफल तयार पारेको हो ।

मधेशका लागि अनिल शाह र इमरान शेखले अर्धशतक पूरा गरे । ३६ बलमा २ चौका र ६ छक्का हानेका अनिल ५७ रन बनाउँदा क्याच आउट भए । ३२ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका इमरान ५० रनमा बोल्ड आृट हुन पुगे ।

पवन सर्राफ ३३ रनमा क्याच आउट हुन पुगे । हिमांशु दत्त १५ रनमा बोल्ड आउट भए । रुपेश सिंह २१ र कप्तान हरिशंकर शाह १० रनमा आउट भए ।

एपीएफका लागि मौसम ढकालले ३ विकेट लिए । अमर राउटेलाले २ विकेट आफ्नो नाममा गरे । पुरन विकले १ विकेट झारे ।

सम्बन्धित समाचार