घरघरमा छिर्न थाले बाँदर र बँदेल, सडकमै देखिन्छन् चितुवा

केही दिनअघि म्याग्दीको बेनी नगरपालिका– ८ जलेश्वरका इन्द्र बरुवालको खेतबारीमा लगाएको तरकारी एक हुल बाँदरले नष्ट गरेका छन् । करिब दुई सयको संख्यामा आएका बाँदरले छानामा राखेको फर्सी पनि छोडेनन् ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिका– १ निस्कोट र वडा नम्बर २ रुममा बँदेलले खेतबारीमा रजाइँ गर्न थालेको धेरै भयो। गत साता घरभित्र नै बँदेल छिरेर टेकबहादुर विक र मंगल सुनारको परिवारलाई आतंकित बनायो । बेनी–बागलुङ सडकमा चितुवालगायत जंगली जनावर गुडिरहेका सवारीसाधनमा ठोक्किएर पछिल्लो एक सातायता दुईवटा दुर्घटना भएका छन् ।

यी म्याग्दीमा जंगली जनावरले दुःख दिएका केही प्रतिनिधिमूलक घटनाहरू मात्र हुन् । विगत दुई वर्षयता जंगली जनावरको आतंक बढ्दै गएपछि पशुचौपायाका साथै मानिसलाई समेत खतरा उत्पन्न भएको स्थानीय बताउँछन् ।

वन्यजन्तुले खेतीबाली र बाख्रा खान थालेपछि ग्रामीण क्षेत्रका बासिन्दा समस्यामा परेका छन् । सडक छेउछाउमा चितुवा देखिन थालेपछि दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ। जंगलनजिकका गाउँमा चितुवा, बँदेल, बाघ, मृग, भालुलगायत जनावरले दुःख दिने क्रम बढेको मालिका– १ का तिलमाया पुनले बताइन् । उनका अनुसार पछिल्लो समय चितुवाले खोरबाटै बाख्रा लगेपछि व्यावसायिक बाख्रापालन गर्दै आएका कृषक समस्या छन् ।

बाँदर र बँदेलले खेतीबाली नष्ट गर्नुका साथै घरभित्र पसेर थन्क्याइएको अन्नसमेत खाने, स्थानीयलाई आतंकित बनाउने गरेको पुनले गुनासो गरिन्। उनका अनुसार एकपटक लखेटेका बाँदर फेरि बस्ती आसपासमा आउने गरेका छन्। समूहमा हिँड्ने र बालीनालीलाई एकैछिनमा सखाप पार्ने हुँदा किसान बाँदरबाट आक्रान्त बनेका उनको भनाइ थियो।

जलेश्वर र गलेश्वर क्षेत्रमा देखिएका बाँदरको चरित्र र आनीबानीबारे अनुसन्धान गर्न स्थानीयवासीले जनप्रतिनिधिलाई समेत अनुरोध गरेका छन्। पहिले जंगलमै भुल्ने बाँदर बस्तीतिर सरेपछि सतर्कता अपनाउनुपर्ने डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ।

फलफूलको सिजनमा बाँदर बस्तीतर्फ आउने र आतंक मच्चाउने गरेछि बाँदर व्यवस्थापनका लागि ठोस नीति र कार्यक्रम तय गर्नु आवश्यक रहेको सहायक वन अधिकृत चन्द्रमणि सापकोटाले बताए। धपाउने, लखेट्ने परम्परागत विधिले मात्र अब बाँदर नियन्त्रण सम्भव नहुने उनको भनाइ थियो ।

सापकोटाले बाँदरबाट प्रभावित किसानलाई बाँदरले प्रयोग नगर्ने वा वैकल्पिक पेसा रोज्नुपर्ने बताए । म्याग्दीका बस्तीमा बाँदरको आतंकले खेतीपाती र फलफूलको सिजनमा किसान चिन्तित हुने गरेका उनको भनाइ थियो ।

बँदेलले रातारात आलु खेती नष्ट गर्ने क्रम बढेको आलु किसान बताउँछन् । हुलकाहुल आउने बँदेलले एक रातमा ठूलो क्षेत्रको आलु खेती नष्ट गरेका मालिका– १ का किसान टेकबहादुर पुनले बताए ।

बाँदर थपाउन खोज्दा उल्टै आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित छन् । बालबालिकालाई आक्रमण गर्ने चिन्ता बढेको स्थानीय बताउँछन् । पछिल्लो एक सातायता बेनी–गलेश्वर सडकखण्ड आसपासका क्षेत्रमा ठूलो संख्यामा भेटिने बाँदर कतैबाट ल्याएर छोडेजस्तै देखिने स्थानीयको भनाइ छ।

बेनी नगरपालिका– ३ लहरेनीका तिला चर्मकारले गाउँमा खेतीबाली र पशुचौपाया जंगली जनावरले नष्ट गरिदिन थालेपछि आफूहरू हैरान परेको बताए ।

वनजंगलमा लागेको डढेलोका कारण अहिले वासस्थान खलबलिएको अवस्थामा मानव र चितुवाको जम्काभेट हुन सक्ने सापकोटाले बताए ।

ग्रामीण क्षेत्रमा लगाइएका हिउँदे र बर्खे बाली जंगली जनावरबाट जोगाउन स्थानीय रातभर जाग्राम बस्न थालेका छन् । जंगली जनावर मार्न नपाइने र धपाउनसमेत नसकिने भएपछि कृषकलाई सास्ती भएको कृषक बताउँछन् ।