प्रतिपक्षदलको अवरोधका कारण भारतको दुवै सदनको बैठक अवरुद्ध भएको छ । लोकसभामा हिउँदे अधिवेशन चलिरहेका बेला दुई ब्यक्ति कुदेको घटनापछि सुरक्षा संवेदनशीलतामाथि प्रश्न उठाउँदै विपक्षी दलले विरोध जनाउँदा भारतको लोकसभा र राज्यसभाको बैठक अवरुद्ध भएको हो ।
प्रतिपक्ष दलले सुरक्षा कमजोरीको विषयमा प्रधानमन्त्री र गृहमन्त्रीले सदनमा आएर चित्तबुझ्दो जवाफ दिनुपर्ने माग गर्दै आएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले सदनबाहिर बयान दिए पनि सदनभित्र बोल्न तयार नभएको भन्दै प्रतिपक्ष दल रुष्ट बनेका छन् ।
सरकारले यस विषयमा राजनीति गरिरहेको विपक्षी दलको आरोप छ। यही मागलाई लिएर सदन अवरोध गरेपछि १३ सांसद निलम्बनमा परेका छन् ।
गत साता संसद् चलिहेका बेला संसदमा कुदेका दुई व्यक्तिले स्प्रे प्रहार गरेपछि लोकसामा हंगामा मच्चिएको थियो ।