चेक गणतन्त्रको राजधानी प्रागस्थित चार्ल्स विश्वविद्यालयमा गोली चल्दा १५ जनाको मृत्यु भएको छ। विश्वविद्यालयमा अध्ययनरत एक बन्दुकधारी विद्यार्थीले बिहीबार अन्धाधुन्ध गोली प्रहार गरी १५ जनाको हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
उक्त आक्रमणमा २४ जना घाइते भएका बताइएको छ। आक्रमणका बेला विश्वविद्यालय परिसरमा भागदौड मच्चिएको थियो । कतिपयले भवनका छतबाट समेत हाम फालेका थिए । मारिने र घाइते हुने अधिकांश विद्यार्थी हुन्। गोली प्रहार गर्ने विद्यार्थीको उमेर २४ वर्ष छ। ती बन्दुकधारीले विश्वविद्यालयमा अन्धाधुन्द गोली प्रहार गरी १४ जनाको हत्या गरेपछि आत्महत्या गरेको अधिकारीहरुले बताएका छन्। ति विद्यार्थीले गोली प्रहार स्थानीय समय अनुसार ३ बजे विश्वविद्यालयको कला संकाय भवनबाट सुरु गरेका थिए ।
चेक गणतन्त्रका राष्ट्रपति पेटर पावेलले विश्वविद्यालयमा भएको गोलीबारीबाट स्तब्ध भएको बताएका छन् । चार्ल्स विश्वविद्यालय चेकको सबैभन्दा पुरानो र सबैभन्दा ठूलो विश्वविद्यालय हो । यो विश्वविद्यालय युरोपकै पुराना संस्थाहरुमध्ये एक मानिन्छ। विश्वविद्यालय रहेको क्षेत्र विख्यात पर्यटकीय क्षेत्र पनि हो ।