बिरामीको मृत्यु भएपिछ झापाको मनमोहन अस्पतालमा तनाव

झापाको बिर्तामोडस्थित मनमोहन अस्पतालमा बिरामीको मृत्यु भएको विषयलाई लिएर प्रदर्शन गरिएको छ । अस्पतालको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल घेराउ गर्दै तोडफोड गर्न खोजेपछि तनाव भएको हो । घुँडामुनि सुन्निएको समस्या लिएर बिर्तामोड ९ की ३५ वर्षीया नर्वदा बासकोटा सोमबार बिहान मनमोहन अस्पतालमा उपचार गर्न लगिएकोमा लापरवाहीले मृत्यु भएको भन्दै आफन्तहरू क्षतिपूर्ति र चिकित्सकलाई कारबाही गर्न माग गर्दै प्रदर्शनमा उत्रेका हुन् । उपचारका क्रममा सोमबार बिहान ल्याइएकी महिलाको साँझ मृत्यु भएको अस्पताल व्यवस्थापनले जनाएको छ ।

आफन्तले मृतकका छोराछोरीको पालनपोषण, शिक्षादिक्षाका लागि क्षतिपूर्ति र लापरवाही गर्ने स्वास्थ्यकर्मीलाई कारबाही गर्नुपर्ने आफूहरूको माग गरेका छन् । इमरजेन्सीमा भर्ना भएको बिरामीको दिनभर राख्दा समेत कुनै पनि रिपोर्ट नदिएको भन्दै उपचार नगरेको आरोप आफन्तले लगाएका छन् । ‘रिपोर्ट नदिनु र उपचार नगर्नु लापरवाही हो’, मृतकका आफन्तले भने ।

घटनाका विषयमा छलफल भइरहेको अस्पताल प्रशासनले जनाएको छ । मृतकको शव अस्पतालको आइसियूमा रहेको जनाइएको छ । अस्पताल प्रवेशमा रोक लगाइएको छ ।

सम्बन्धित समाचार