एमाले कार्यदल बैठक अझै शुरु हुन सकेन, नेपाल पक्षका सदस्यहरु कोटेश्वरमा

नेकपा (एमाले) को आन्तरिक विवाद मिलाउन सक्रिय कार्यदलको आजको बैठक अझै शुरु हुन सकेको छैन । बैठक बस्ने तयारी भइरहँदा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु कोटेश्वर पुगेका छन् ।

सिंहदरबारस्थित अर्थमन्त्रालयमा दिउँसो २ः३० बजेका लागि बैठक तय भएको भएपनि केही विषयमा सहमति गर्न नेता नेपालको सहमति आवश्यक भएको भन्दै सो पक्षका सदस्यहरु नेता नेपालसँग परामर्श गर्न कोटेश्वर गएको कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

आजको बैठकमा कार्यदलका सदस्यले सहमतिको दस्तावेजलाई मोटामोटी टुङ्गो लगाउने तयारी गरेका थिए । नेता नेपाल पक्षका कार्यदलका सदस्यहरु एक घण्टाको समय माग गरेर कोटेश्वर हिँडेपछि अध्यक्ष ओली पक्षका कार्यदलका सदस्यहरु उनीहरुलाई पर्खेर बसेका छन् । “हामी गृहकार्य गर्दै सिंहदरबारमा पर्खेर बसेका छौं, उहाँहरु परामर्शपछि बैठकमा आउँछौं भन्नुभएको छ” नेता नेम्वाङले भने ।

कार्यदलको बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्षका सदस्यहरुले सर्वोच्चमा पेश भएको हस्ताक्षर फिर्ताको प्रस्ताव राखेपछि सो विषयमा आफूहरु निर्णय लिन नसक्ने भन्दै नेपाल पक्षका सदस्यहरु थप परामर्श गर्न नेपाल निवास पुगेका हुन् । उनीहरुबीच अहिले नेपाल निवासमा छलफल जारी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार