दुई रातो कार्ड देखाइएको खेलमा कीर्गिस्तानलाई २–० ले हराउँदै साउदी अरेबिया एएफसी एसियन कपको अन्तिम–१६ मा प्रवेश गरेको छ ।
आइतबार कतारको अहमेद बिन अली रंगशालामा कीर्गिस्तानका दुई खेलाडीले रातो कार्ड पाएका थिए । कीर्गिस्तानले नौ खेलाडीमा सीमित बन्दै खेलको अन्त्य गरेको थियो ।
कीर्गिस्तानलाई हराउन साउदीका मोहमेद कानो र फैसेल अल–घाम्डीले गोल गरे । खेलको ३५औँ मिनेटमा कानोले गोल गर्दै साउदीलाई अग्रतामा राखेका थिए । निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा घाम्डीले गोल गर्दै साउदीको अग्रता दोब्बर बनाएका थिए ।
त्यसअघि, खेलको नवौँ मिनेटमा आइजर अक्मातोभले र ५२औँ मिनेटमा किमी मेर्कले रातो कार्डको दर्शन गर्दै मैदान छाडेपछि कीर्गिस्तान नौ खेलाडीमा समेटिएको थियो ।
जितसँगै दुई खेलबाट ६ अंक जोडेको साउदीले समूह ‘एफ’को अन्तिम खेलअगावै नकआउट चरणमा स्थान बनाएको हो । समान खेल खेल्दा पनि अंकविहीन कीर्गिस्तान तालिकाको पुछारमा छ ।
आइतबार नै भएको यही समूहको अर्को खेलमा ओमान र थाइल्यान्डले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।