नेपालका स्पिनर सुवास भण्डारी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को कारबाहीमा परेका छन् । दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकपअन्तर्गत दोस्रो खेलमा पाकिस्तानविरुद्ध गरेको गल्तीको कारण उनी कारबाहीमा परेका हुन् ।
जनवरी २४ भएको खेलमा पाकिस्तानको ब्याटिङ इनिङ्सको १४औँ ओभरको अन्त्यमा भण्डारीले बल ब्याटर शाहजाइब खानतर्फ अनुपयुक्त रूपमा फ्याँकेपछि उनको काँधमा लागेको थियो ।
भण्डारीले खेलाडी र खेलाडी समर्थन कर्मचारीहरूको लागि आइसीसी आचारसंहिताको धारा २.९ को उल्लङ्घन गरेको पाइएको आइसीसीले जनाएको छ ।
आइसीसीको उक्त धारा अन्तर्राष्ट्रिय खेलको क्रममा अनुपयुक्त वा खतरनाक तरिकामा खेलाडीको नजिक वा बल फ्याँक्नेसँग सम्बन्धित छ। उनलाई आईसीसीले एक डेमेरिट प्वान्ट दिएको छ ।
यससँगै भण्डारीको अनुशासनात्मक रेकर्डमा एक डिमेरिट अंक थपिएको छ । एक डेमेरिट प्वाइन्ट आगामी २४ महिनासम्म रेकर्डमा हुनेछ । यदि कुनै खेलाडीको २४ महिनाभित्र चार डेमेरिट प्वाइन्ट भएमा दुई खेलमा प्रतिबन्ध लाग्नेछ ।
मैदानका अम्पायर फिल गिलेस्पी र बोंगानी जेले, टिभी अम्पायर फोर्स्टर मुटिज्वा र चौथो अम्पायर केएनले भण्डारीमाथि अनुपयुक्त रूपमा बल फ्याँकेको आरोप लगाएका थिए । भण्डारीले पनि आईसीसी म्याच रेफ्री ग्रीम ल्याब्रोयले प्रस्ताव गरेको सजाय स्वीकार गरेका छन् ।
नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको थियो । सुपर सिक्समा नेपालले अव भारत र बंगलादेशसँग खेल्नेछ ।