बेलायतका राजकुमार विलियमले शाही जिम्मेवारी सम्हालेका छन् । बेलायतका राजा चार्ल्स तृतीय बिरामी परेपछि राजकुमार विलियमले बुधबारदेखि शाही जिम्मेवारी सम्हालेका हुन् ।
राजा चार्ल्सले आफ्नो उपचार चलिरहेकाले छोरा विलियमलाई थप शाही जिम्मेवारी सुम्पिएका बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।
राजा चार्ल्सको क्यान्सरको उपचार चलिरहेको छ । उनकी श्रीमती पनि शल्यक्रियापछि आराम गरिरहेकी छन्। यो अवस्थामा राजा चार्ल्सले राजकुमार विलियमलाई शाही जिम्मेवारी दिएका हुन् ।
४१ वर्षीय राजकुमार विलियम राजा चार्ल्सका जेठा छोरा हुन् । उनले आफ्नी पत्नी तथा वेल्सकी राजकुमारी क्याथरिन र उनीहरूका तीन छोराछोरीको हेरचाहका लागि सार्वजनिक कार्यक्रम स्थगित गरेका थिए ।
राजाको स्वास्थ्य उपचारका लागि दरबारको नियमित जिम्मेवारीको बोझ कम गर्ने निर्णयसँगै विलियम बुधबारदेखि काममा फर्किएका हुन् ।
उनले आफ्नो बुबाको उपचारका क्रममा चार्ल्सका केही कर्तव्यहरू पनि सम्हाल्ने अपेक्षा गरिएको छ । उपचारका क्रममा राजा चार्ल्सको कतिपय सेवा सम्पादन गर्न राजकुमारी एनी र चार्ल्सकी पत्नी रानी क्यामिलाले भार साझेदारी गर्नेछन् ।
७५ वर्षीय राजा चार्ल्सलाई कुन प्रकारको क्यान्सर भएको खुलेको छैन । सन् २०२२ सेप्टेम्बर ८ मा राजा चार्ल्सकी ९६ वर्षीया आमा एलिजाबेथ द्वितीयको निधन भएपछि उनले नेतृत्व सम्हालेका थिए ।