एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गतको खेलमा नेपालले क्यानडालाई २२५ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपूरस्थित त्रिवि मैदानमा टस जितेर सुरुवातमा ब्याटिङ गरेको नेपालले निर्धारित ५० विकेट गुमाएर २२४ रन जोड्यो । नेपालका लागि ओपनर कुशल भूर्तेलले ६२ रनको अर्धशतक प्रहार गरे ।
भुर्तेलले ५८ बलमा नौ चौका र एक छक्कासहित ६२ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भुर्तेलको यो सातौँ अर्धशतक हो । आरिफ सेखले ५० बलमा चार चौकासहित ३८ रन थपे । सोमपाल कामीले २७, कुशल मल्लले २०, भीम सार्कीले १७ र पवन सर्राफले १५ रन थपे ।
यसबाहेक, ओपनर आसिफ सेख र कप्तान रोहितकुमार पौडेलले समान आठ रन बनाए । ‘डेब्युट्यान्ट’ रिजन ढकाल चार रनमा पभेलियन फर्किदा सूर्य तामाङले १० रन थपे ।
क्यानडाका उदय भगवानले तीन विकेट लिए । आठ ओभर बलिङ गरेका उदयले एक मेडन फ्याक्दै ४० रन खर्चिए । साद बिन जफरले दुई विकेट लिँदा इश्वरजोत सोही, साहिद अहमदजाई र हर्ष थाकेरले समान एक विकेट लिए ।
नेपालले घरेलु मैदानमा तीन खेलको एकदिवसीय शृंखलाका लागि क्यानडालाई निम्ताएको हो । आजको खेलपछि नेपालले शनिबार दोस्रो र सोमबार शृंखलाको तेस्रो खेल खेल्नेछ ।