रविविरुद्धको मुद्दाबारे छलफलमा न्यायधीश, सर्वोच्च परिसरमा बढाइयो सुरक्षा

काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी परेको रिटमा सुनुवाइ सकिएको छ।

संवैधानिक इजलासमा लामिछानेका वकिलहरूले बहस र रिट निवेदकका वकिलहरूले जवाफी बहस गरेका थिए । सुनुवाइपछि अहिले न्यायाधीशहरू फैसलाबारे छलफल गरिरहेका छन्।

मुद्दाको सुनुवाइ सकिएसँगै जिल्ला प्रहरी परिसर काठमाडौँबाट डीएसपी पवत भट्टराईको नेतृत्वमा थप टोली सर्वोच्चमा पठाइएको छ । यसैगरी प्रहरी वृत्त सिंहदरबारबाट पनि थप टोली पठाइएको प्रहरी स्रोतले जनाएको छ ।

यस्तै सर्वोच्चमा एसपीको कमाण्डमा नियमित टोली पनि रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा पक्ष र विपक्षमा बहस सकिएसँगै फैसलाका लागि न्यायाधीशहरु आन्तरिक गृहकार्यमा लागेका छन् । फैसला आजै आउने वा मिति तोक्ने भन्नेबारे अहिलेसम्म कुनै जानकारी उपलब्ध गराइएको छैन ।