वासिङ्टन– अमेरिकी प्रतिनिधि सभाका सभामुखले रूसी नेता भ्लादिमिर पुटिनविरुद्ध उभिनका लागि युक्रेनलाई युद्ध सहायता प्रदान गर्न आवश्यक रहेको अमेरिकी राष्ट्रपति जो बाइडेनको आग्रहलाई बेवास्ता गर्दै युक्रेनका लागि युद्ध सहायता रोकेका छन् ।
आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा बाइडेनका सम्भावित प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पसँग निकट रहेर काम गर्ने सभामुख माइक जोनसनले आफूले विधेयकमाथिको मतदानलाई अगाडि बढाउने कुनै मनसाय नरहेको बताए । उक्त विधेयक मङ्गलबार सिनेटमा पारित भएको थियो । यसमा मुख्यतया पश्चिमसमर्थक युक्रेनको सुरक्षाका साथै इजरायल र ताइवानको शीर्ष अमेरिकी रणनीतिक प्राथमिकताहरूको लागि ९५ अर्ब अमेरिकी डलरको कोष समावेश छ ।
ह्वाइट हाउसमा बाइडेनले अमेरिकी सहयोगी राष्ट्रलाई सहयोग गर्नु र विशेषगरी युक्रेनले दुई वर्षदेखि जारी रूसी आक्रमणलाई रोक्न सङ्घर्ष गरिरहेको अवस्थामा सहयोग गर्नु आधारभूत जिम्मेवारी भएको बताए । पूर्व राष्ट्रपति ट्रम्पले आर्थिक प्रतिबद्धता पूरा गर्न असफल भएका नेटो सदस्यराष्ट्रहरूमाथि आक्रमण गर्न रूसलाई प्रोत्साहित गरेपछि राष्ट्रपति बाइडेनले ट्रम्पको पनि आलोचना गरेका थिए ।
संसद् (अमेरिकी कङ्ग्रेस) मा रहेको अस्तव्यस्तताका कारण युक्रेनलाई दिने अमेरिकी सहयोग महिनौँदेखि ठप्प भएको छ भने युक्रेनी नेताहरूले बढ्दो रूसी आक्रमणको सामना गर्न मद्दतको याचना गरिरहेका छ । सिनेटको ९५ अर्ब डलरको प्याकेजमा इजरायली सेना र ताइवानका लागि आर्थिक सहयोग समावेश गरिएको छ तर ६० अर्ब अमेरिकी डलरको ठूलो हिस्साले युक्रेनलाई गोलाबारुद आपूर्ति, हतियार र अन्य महत्वपूर्ण आवश्यकताहरूको पुनः भण्डारण गर्न मद्दत गर्नेछ ।
केही रिपब्लिकनहरूले ट्रम्पको पर्दा पछाडिको चालबाजीलाई अस्वीकार गरेपछि यो सिनेटमा सजिलै पारित भएको थियो । तर जोनसनले मेक्सिकोको सीमापार संयुक्त राज्य अमेरिकामा अवैध आप्रवासन रोक्न कडा नयाँ उपायहरू बिना युक्रेनको सुरक्षालाई सम्बोधन गर्न नसक्ने बताएका छन् । वास्तवमा, दशकौँमा सबैभन्दा कठोर नयाँ अमेरिकी सीमा सुरक्षा उपायहरू लागू नगरीकन विदेशी सहायता प्रदान गर्न सिनेटमा डेमोक्र्याटहरूले पहिले नै रिपब्लिकनहरूसँग मिलेर संयुक्त विधेयक तयार गर्न सहकार्य गरिसकेका छन् ।
उक्त विधेयक सिनेटमा अनुमोदनका लागि राखिएको थियो तर जोनसनले सदनमा यसलाई रोक्ने घोषणा गरेका छन् । यसले सिनेटलाई उक्त संस्करणलाई त्याग्न र मङ्गलबारको नयाँ विदेशी सहायता–मात्र विधेयकमा प्रवेश गराउन उत्प्रेरित गरेको थियो । यसलाई जोनसनले फेरि एक पटक अस्वीकार गरेका छन् ।
गत चुनावमा पराजित भए पनि रिपब्लिकन पार्टीमा प्रभुत्व जमाएका र अहिले चार वटा छुट्टाछुट्टै मुद्दामा ९१ वटा आपराधिक मुद्दा खेपिरहेका ट्रम्पले यो अवधिभरि नै कङ्ग्रेसको लगाम खिच्न सफल भएका छन् । उनले युक्रेनलाई रुसविरुद्धको लडाइँमा सहयोग गर्ने कुराको विरोध गर्दै आफू निर्वाचित भएमा एक दिनमै युद्धको वैकल्पिक समाधान गर्ने बताउँदै आएका छन् । उनले सांसदहरूलाई अमेरिकी सीमा सुधारसम्बन्धी विधेयकलाई पारित नगर्न खुलेआम आह्वान गरेका छन् ।
बाइडेनले ट्रम्पले सीमा विवादलाई राजनीतिक प्रहारका रुपमा प्रयोग गरेको आरोप लगाए ।