जेलमा रहेका पुटिनका कट्टर आलोचक नभाल्नीको मृत्यु

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक एलेक्सी नभाल्नीको मृत्यु भएको छ ।

रूसको जेलमा रहेका ४७ वर्षीय नभाल्नीको शुक्रबार मृत्यु भएको रूसी समाचार संस्था तासले कारागार प्रशासनलाई उदृत गर्दै लेखेको छ ।

१९ वर्षको जेल सजाय पाएका नभाल्नीलाई संसारकै कठोर जेलमध्ये एक मानिने आर्कटिक सर्कल जेलमा राखिएको थियो । यामालो निनेट्स जिल्‍लामा रहेको उक्त जेल प्रशासनले उनलाई केही असहज महसुस भएको र एक्कासि होस गुमाएको बताएको छ । उक्त घटना हुँदा चिकित्सकको टोलीले उपचारका लागि प्रयास गर्दा पनि नसकेको विज्ञप्तिमा भनिएको छ ।

उनको मृत्युको यकिन कारण खुलिसकेको छैन । २०२० मा उनीमाथि रासायनिक आक्रमण भएपछि नभाल्नी चर्चामा आएका थिए । उनले पुटिन र रुसको युनाइटेड रसिया पार्टीविरुद्ध विरोध प्रदर्शनहरु आयोजना गरेका थिए ।

उपचारका लागि विदेश गएका उनी २०२१ मा फर्केका थिए । उनलाई तत्कालै पक्राउ गरेर विभिन्न आरोप लगाइएको थियो । त्यसयता उनी जेलमै थिए ।

उनलाई अतिवादी समूह निर्माण गरेको, अतिवादीहरुलाई आर्थिक सहायता गरेको र अन्य कयौँ अपराधमा दोषी ठहर गरिएको थियो ।

केही समयअघि उनका वकिलहरुले उनीसँगको सम्पर्क टुटेको बताएका थिए । डिसेम्बर २५ मा उनीसँग सम्पर्क स्थापित भएको थियो । जतिबेला उनी १ हजार माइल टाढा खार्प भन्ने स्थानमा भेटिएका थिए ।

सम्बन्धित समाचार