नेपालविरुद्ध नेदरल्यान्ड्स १३७ रनमै अलआउट

आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गत नेपालसँगको खेलमा नेदरल्याण्ड्स अलआउट भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्स ३८.२ ओभरमा १३७ रन बनाएर अलआउट भएको हो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक विकेट लिए । उनले ६.२ ओभरमा २० रन खर्चेर ४ विकेट लिएका छन् ।

टस जितेपछि फिल्ड गर्ने निर्णय लिएको नेपालले उत्कृष्ट बलिङ र फिल्डीङ गर्दै नेदरल्यान्ड्सलाई सुरुवातदेखि दबाबमा राखेको थियो । नेपालले गरेको बलिङ परिवर्तन लगातार सफल हुँदा नेदरल्यान्ड्सले साझेदारी बुन्न संघर्ष गर्यो ।

नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ३३ रन जोडे । ४९ बलमा १ चौका प्रहार गर्दै संयमित इनिङ खेलेका उनी नवौं विकेटको रुपमा कुशल भुर्तेलको एलबीडब्लु धरापमा परे । कुशलले मध्यक्रम ध्वस्त पार्दै कुल ४ विकेट लिए ।

तीव्र गतिका बलर सोमपाल कामीले इनिङको पहिलो ओभरमै डेब्यु गरिरहेका माइकल लेभिटलाई शून्यमा आउट गरे । तेस्रो बलमा लेभिटको प्रहार देव खनालले थर्ड म्यानमा क्याच गरेका थिए ।

छैटौं ओभरमा म्याक्स ओ डाउड रनआउट भएपछि नेदरल्यान्ड्स १८-२ को स्थितिमा पुग्यो । उनले २१ बलमा १ छक्कासहित १० रन जोडे ।

त्यसपछि बास डे लिडे र साइब्रान्ड एंगलब्रेक्टले साझेदारी गर्दै टोलीलाई केहि सम्हाले । ललितले १६ औं ओभरमा एंगलब्रेक्टलाई स्लिपमा क्याच गराएर सफलता दिलाए । उनले ३५ बलमा २३ रन जोडे । २० औं ओभरमा ललितले बासलाई बोल्ड गर्दा नेदरल्यान्ड्स ६७-४ को अवस्थामा पुग्यो ।

२६ औं ओभरमा स्कट एडवार्ड्सको प्रहार कुशल मल्लको हातमा लाग्दै नन स्ट्राइकतर्फ स्टम्पमा लाग्दा नोआ क्रोस रनआउट भए । लगत्तै अर्को ओभरमा कुशल भुर्तेलले वेस्ली बरेसीलाई क्याच आउट गराएपछि नेदरल्यान्ड्स ९९-६ को अवस्थामा पुग्यो ।

लगत्तै अर्को ओभरमा रोहित पौडेलले आफ्नो पहिलो ओभरमा शरिज अहमदलाई १ रनमा बोल्ड गरे । आर्यन दत्त १० रन जोड्दै कुशल भुर्तेलको बलमा ठूलो सट खेल्ने धुनमा क्याच आउट भए । ड्रिंक्सलगत्तै ३५ औं ओभरमा स्कट एडवार्ड्स पेभेलियन फर्किए । भुर्तेलले नै किंगमालाई २ रनमा कट बिहाइन्ड गरेपछि नेदरल्यान्ड्स अलआउट भयो ।

नेपालका लागि कुशल भुर्तेलले ४, ललित राजवंशीले २ तथा रोहित पौडेल र सोमपाल कामीले १-१ विकेट लिए । नेदरल्यान्ड्सका दुई ब्याटर रनआउट भएका थिए ।

नेपालले आज दुई परिवर्तन गर्ने क्रममा दीपेन्द्रसिंह ऐरी र देव खनाललाई खेलाएको छ । पछिल्लो खेलबाट करण केसी र पवन सर्राफ बाहिर छन् ।

सम्बन्धित समाचार