आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्समाथि ९ विकेटको सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ३८ रनको लक्ष्य नेपालले १६ औं ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर अनिल शाह र आसिफ शेखले अर्धशतक पूरा गर्दा कुशल भुर्तेलले आक्रामक सुरुवात दिलाएर आउट भएका थिए ।
आसिफले ४५ बलमा ८ चौका र १ छक्कासहित नटआउट ५४ रन जोडे । अनिल ३६ बलमा ६ चौका र ४ छक्कासहित ५७ रनमा नटआउट रहे । यी दुईले दोस्रो विकेटका लागि नटआउट १ सय ५ रनको साझेदारी पनि बुने ।
टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्स ३८.२ ओभरमा १३७ रन बनाएर अलआउट भएको थियो। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक विकेट लिए । उनले ६.२ ओभरमा २० रन खर्चेर ४ विकेट लिएका थिए ।
टस जितेपछि फिल्ड गर्ने निर्णय लिएको नेपालले उत्कृष्ट बलिङ र फिल्डीङ गर्दै नेदरल्यान्ड्सलाई सुरुवातदेखि दबाबमा राखेको थियो । नेपालले गरेको बलिङ परिवर्तन लगातार सफल हुँदा नेदरल्यान्ड्सले साझेदारी बुन्न संघर्ष गर्यो ।
नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ३३ रन जोडे । ४९ बलमा १ चौका प्रहार गर्दै संयमित इनिङ खेलेका उनी नवौं विकेटको रुपमा कुशल भुर्तेलको एलबीडब्लु धरापमा परे । कुशलले मध्यक्रम ध्वस्त पार्दै कुल ४ विकेट लिए ।
तीव्र गतिका बलर सोमपाल कामीले इनिङको पहिलो ओभरमै डेब्यु गरिरहेका माइकल लेभिटलाई शून्यमा आउट गरे । तेस्रो बलमा लेभिटको प्रहार देव खनालले थर्ड म्यानमा क्याच गरेका थिए ।
छैटौं ओभरमा म्याक्स ओ डाउड रनआउट भएपछि नेदरल्यान्ड्स १८-२ को स्थितिमा पुग्यो । उनले २१ बलमा १ छक्कासहित १० रन जोडे ।
त्यसपछि बास डे लिडे र साइब्रान्ड एंगलब्रेक्टले साझेदारी गर्दै टोलीलाई केहि सम्हाले । ललितले १६ औं ओभरमा एंगलब्रेक्टलाई स्लिपमा क्याच गराएर सफलता दिलाए । उनले ३५ बलमा २३ रन जोडे । २० औं ओभरमा ललितले बासलाई बोल्ड गर्दा नेदरल्यान्ड्स ६७(४ को अवस्थामा पुग्यो ।
२६ औं ओभरमा स्कट एडवार्ड्सको प्रहार कुशल मल्लको हातमा लाग्दै नन स्ट्राइकतर्फ स्टम्पमा लाग्दा नोआ क्रोस रनआउट भए । लगत्तै अर्को ओभरमा कुशल भुर्तेलले वेस्ली बरेसीलाई क्याच आउट गराएपछि नेदरल्यान्ड्स ९९(६ को अवस्थामा पुग्यो ।
लगत्तै अर्को ओभरमा रोहित पौडेलले आफ्नो पहिलो ओभरमा शरिज अहमदलाई १ रनमा बोल्ड गरे । आर्यन दत्त १० रन जोड्दै कुशल भुर्तेलको बलमा ठूलो सट खेल्ने धुनमा क्याच आउट भए । ड्रिंक्सलगत्तै ३५ औं ओभरमा स्कट एडवार्ड्स पेभेलियन फर्किए । भुर्तेलले नै किंगमालाई २ रनमा कट बिहाइन्ड गरेपछि नेदरल्यान्ड्स अलआउट भयो ।
नेपालका लागि कुशल भुर्तेलले ४, ललित राजवंशीले २ तथा रोहित पौडेल र सोमपाल कामीले १(१ विकेट लिए । नेदरल्यान्ड्सका दुई ब्याटर रनआउट भएका थिए ।