नामिबियासँग नेपालको दोस्रो हार

आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नामिबियाले नेपाललाई २ विकेटले हराएको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा नेपालले दिएको १६९ रनको लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर भेट्टायो ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो ।

नामिबियाका लागि कप्तान जेराल्ड इरासमसले अर्धशतक प्रहार गरे। कुशल भुर्तेलको बलमा करण केसीबाट क्याच हुनुअघि उनले ५६ बलमा ८ चौका र २ छक्का प्रहार गरे।

नामिबियाले पाँच ओभरभित्र दुई विकेट गुमाए पनि इरासमस र मिकेल भानले तेस्रो विकेटका लागि ५२ रनको साझेदारी गरे। भानले कुशल मल्लबाट आउट हुनुअघि ३१ रन जोडे।

अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न नसके पनि जेजे स्मिथ र रुबेन ट्रम्पलम्यानले अन्तिमसम्म ब्याटिङ गरेर नामिबियालाई जित दिलाए।

स्मिथले ६६ बल खेलेर नटआउट ३४ रन जोडे भने ट्रम्पलम्यानले १६ रनमा आउट भए। बलिङमा नेपालका कुशल भुर्तेलले तीन विकेट लिँदा कुशल मल्ल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र ललित राजवंशले एक-एक विकेट हात पारे।

नेपालका लागि ओपनिङ ब्याटर आसिफ शेखले अर्धशतक प्रहार गरे पनि अरु ब्याटर चल्न सकेनन्। कप्तान रोहित पौडेलसहित चार ब्याटरले खाता खोल्न सकेनन् भने ६ ब्याटरले दोहोरो अंकमा रन बनाएनन्। 

६४ बलमा ८ चौका र १ छक्का प्रहार गरेका आसिफले ५८ रन जोडे। आसिफको यो १२औं एकदिवसीय अर्धशतक हो। उनले एकदिवसीय खेलमा एक शतक पनि प्रहार गरेका छ्न। जारी सिरिजमा उनले नेदरल्यान्ड्सविरूद्धको अघिल्लो खेलमा पनि अर्धशतक प्रहार गर्ने क्रममा नटआउट ५४ रन जोडेका थिए।

अर्का ओपनर कुशल भुर्तेलले १८ रन जोडे। उनले आसिफसँग ३८ रनको ओपनिङ साझेदारी गरे। उनी सातौं ओभरमा बर्नाल्ड स्कोल्जको एलबिडब्लूको धरापमा परेका थिए। सोहि ओभरमा अनिल साह र अर्को ओभरमा देव खनाल शून्यमा आउट भएपछि नेपाल सुरुमै दबाबमा परेको थियो। नेपालले आठ ओभरमा महत्वपूर्ण तीन विकेट गुमाउँदा ४३ रन जोडेको थियो।

खेलमा कप्तान रोहित पौडेल पनि चल्न सकेनन्। २४ ओभरमा आउट भएका रोहित ९ बल खेल्दा शून्यमा आउट भए। त्यसपछि कुशल मल्लले  २६ रन जोड्दा  नेपालको रन केही बढेको थियो।

दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी ३४औं ओभरको चार बलको अन्तरमा आउट भए। दीपेन्द्र सो ओभरको दोस्रो बलमा ६ रनमा आउट हुँदा सोमपाल पाँचौ बलमा ४ रनमा आउट भए।

३५औं ‌ओभरमा भीम सार्की स्कोल्जबाट बोल्ड भए। उनले २६ रन बनाए। यस्तै करण केसीले अन्तिम विकेटको रुपमा आउट हुनुअघि १२ रन जोडे। 

बलिङमा स्कोल्जले ४ विकेट लिए। उनले १० ओभरमा २ मेडन राख्दा ३१ रन खर्चिए। जान निकोलले पनि ४ विकेट लिए। उनले ६.१ ओभरमा ३४ रन खर्चिए।

यसअघि पहिलो खेलमा नेपाललाई नामिबियाले ४ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा भने नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो। 

सम्बन्धित समाचार