रुसको कन्सर्ट हलमा आक्रमण : मृत्यु हुनेको संख्या ९३ पुग्यो

रुसको राजधानी मस्कोको बाहिरी भागमा रहेको कन्सर्ट हलमा शुक्रबार राति गरिएको आक्रमणमा मृत्यु हुनेको संख्या ९३ पुगेको छ । १०० भन्दा बढी मानिस घाइते छन् । मृत्यु हुनेमा बालबालिका पनि छन् ।

रुसी विदेशमन्त्रीले यसलाई आतंकवादी हमला भनेका छन् । युक्रेनले आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको बीबीसीले जनाएको छ ।

बीबीसी रुसी सेवाका सम्पादक स्टिभ रोजेनबर्गले पछिल्लो दुई दशकमा रुसमा यो सबैभन्दा ठूलो हमला भएको बताएका छन् ।

आक्रमणकारी को थिए र कहाँबाट आएका थिए भन्ने बारेमा धेरै जानकारी नभएको रुसी अधिकारीको भनाइ छ ।

चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस)को एक समूहले आक्रमणको जिम्मेवारी लिएको छ । आक्रमण गर्ने बन्दुकधारी त्यहाँबाट भागेको आईएसले जनाएको छ ।

अमेरिकाले इस्लामिक स्टेटको यो दाबीलाई विश्वास नगर्ने कुनै कारण नरहेको जनाएको छ ।

मस्कोको उत्तरपश्चिमी सहर क्रास्नोगोर्स्कको क्रोकस सिटी हल रिटेल र कन्सर्ट कम्प्लेक्समा आक्रमण गरिएको बीबीसीले उल्लेख गरेको छ ।

त्यहाँ पिकनिक नामक रुसी रक ग्रुपको कन्सर्ट हुने क्रममा थियो । कन्सर्ट सुरु हुनुअघि नै चार बन्दुकधारीले सहभागीमाथि गोली चलाएका थिए ।

आक्रमणका बेला हलमा ६ हजारभन्दा बढी मानिस उपस्थित थिए । रक समूह मञ्चमा जानुअघि नै आक्रमण भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

सो क्रममा भवनमा आगलागी हुनुका साथै छानाको एक भाग खसेको थियो । आक्रमणकारीको खोजी गरिरहेको रुसी सुरक्षा अधिकारीले बताएका छन् ।

सम्बन्धित समाचार