वेम्बली रंगशालामा १७ वर्षीय ‘टिनएजर’ एन्ड्रिक चम्किएपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा ब्राजिलले इंग्ल्यान्डविरुद्ध १–० को जित निकालेको छ ।
शनिबार राति वेम्बलीमा सम्पन्न खेलको अन्तिम १० मिनेट बाँकी छँदा एन्ड्रिकले निर्णायक गोल गरेपछि ब्राजिलले घरेलु मैदानमै इंग्ल्यान्डलाई निराश बनाएको हो । योसँगै एन्ड्रिक कुनै पनि क्लब वा राष्ट्रिय टिमबाट वेम्बलीमा गोल गर्ने सबैभन्दा युवा खेलाडी बने । उनले इंग्ल्यान्डविरुद्ध १७ वर्ष २४६ दिनको उमेरमा गोल गरेका हुन् ।
ब्राजिलविरुद्ध इंग्ल्यान्डका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले न्युक्यासलका एन्टोनी गोर्डोन, एस्टन भिल्लाका एज्री कोन्सा र म्यानचेस्टर युनाइटेडका कोबी माइनो गरी तीन खेलाडीलाई राष्ट्रिय टिमबाट ‘डेब्यु’ गराएका थिए । जसमध्ये गोर्डोन पहिलो रोजाईमा मैदान उत्रिँदा कोन्सा र माइनो ‘सब्सिच्युट’ खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए ।
शनिबार नै भएका अन्य मैत्रीपूर्ण खेमा जर्मनीले फ्रान्सविरुद्ध २–० को जित निकालेको छ । जर्मनीको जितमा फ्लोरियन विर्ट्ज र काइ हाभाट्जले गोल गरे ।