जारी इन्डियन प्रिमियर लिग (आईपिएल) मा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा मुम्बईलाई गुजरातले ६ रनले हराएको हो । गुजरातले मुम्बईलाई जितका लागि १ सय ६९ रनको लक्ष्य दिएको थियो ।
त्यसक्रममा मुम्बईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६२ रन मात्र बनाउन सक्यो । डेवाल्ड ब्रेभिसले ३८ बलमा ४६ रन तथा पूर्वकप्तान रोहित शर्माले २९ बलमा ४३ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । गुजरातका लागि अजमतुल्लाह ओमरजाई, उमेश यादव, स्पेन्सर जोन्सन र मोहित शर्माले २–२ विकेट लिँदा साई किशोरले एक विकेट झारे । ३ आभेर बल फालेका क्याप्टेन हार्दिक पाण्ड्याले भने विकेट लिन सकेनन् । उनले ३० रन दिएका थिए ।
मुम्बईका लागि तिलक वर्माले २५ र नमन धिरले २० रनको योगदान दिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६८ रन बनाएको थियो । गुजरातका लागि प्लेयर अफ द म्याच घोषित साई सुदर्शनले ३९ बलमा ४५ रन बनाए । उनले यस क्रममा ३ चौका र १ छक्का हिर्काए । कप्तान शुभमन गिलले ३१ तथा राहुल तेवाटियाले २२ रन बनाए। मुम्बईका लागि जसप्रित बुमराहले ३ तथा जेराल्ड कोट्जीले २ विकेट लिए ।