सेफिल्ड युनाइटेडविरुद्ध ३–१ को सहज जित निकाल्दै लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
बिहीबार राति एन्फिल्डमा घरेलु टिमलाई जित दिलाउन डार्विन नुनेज, एलेक्सिस म्याक एलिस्टर र कोडी गाक्पोले गोल गरे । सेफिल्डले भने लिभरपुलकै खेलाडीबाट आत्मघाती गोल उपहार पाएको थियो ।
खेलको १७औँ मिनेमा नुनेजले गोल गरेपछि पहिलो हाफमा लिभरपुलले १–० को अग्रता बनाएको थियो । ५८औँ मिनेटमा घरेलु टिमका कोनोर ब्राड्लीबाट आत्मघाती गोल भएपछि सेफिल्ड १–१ को बराबरीमा फर्किएको थियो ।
७६औँ मिनेटमा म्याक एलिस्टरले गोल गर्दै लिभरपुललाई २–१ को अग्रतामा राखे । खेलको अन्तिम मिनेटमा गाक्पोले गोल गरेपछि घरेलु टिमले ३–१ को जितसहित तीन अंक निश्चित गर्यो ।
जितसँगै शीर्ष स्थानमा उक्लिएको लिभरपुलले ३० खेलबाट ७० अंक जोडेको छ । दोस्रो स्थानको आर्सनलको भन्दा यो दुई र तेस्रो स्थानको म्यानचेस्टर सिटीको भन्दा तीन अंक धेरै हो ।
तालिकाको पुछारमा रहेको सेफिल्डको भने ३० खेलबाट १५ अंक छ । सेफिल्ड रेलिगेसन क्षेत्रभन्दा माथि रहेको नटिङ्घम फरेस्टभन्दा १० अंकले पछाडि छ ।