संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता समन्वय कार्यालयले भूकम्पबाट प्रभावित २४ हजार आठ सय हेराती परिवार अस्थायी आश्रयमा बसिरहेको घोषणा गरेको खामा प्रेसले जनाएको छ । त्यहाँ सन् २०२३ अक्टोबर ७ मा ६ दशमलव तीन रेक्टर स्केलको विनाशकारी भूकम्प गएको थियो ।
सामाजिक सञ्जाल एक्समा गरिएको एक पोष्टमा संयुक्त राष्ट्र–सम्बद्ध सङ्गठनले हेरातका प्रकोप प्रभावित परिवारहरूलाई बिर्सन नहुने जनाउँदै आधारभूत सुविधाका साथ सहयोग गर्नु पर्नेमा जोड दिएको छ ।
संयुक्त राष्टसङ्घको कार्यालयलाई उद्धृत गर्दै खामा प्रेसले रिपोर्ट हेरातमा भूकम्पले दुई लाख ७५ हजार मानिसलाई असर गरेको र ४० हजार घर ध्वस्त भएको बताएको छ ।
संयुक्त राष्ट्रङ्घको मानवीय सहायता समन्वय कार्यालयअनुसार यस प्रान्तमा मानवीय गतिविधिहरू जारी छन । हेरातमा विनाशकारी भूकम्पमा बालबालिका तथा महिलासहित सयौँ मानिसले ज्यान गुमाएका थिए ।
कार्यलयका अनुसार भूकम्पको गम्भीर प्रकोपबाट बचेका मानिसलाई भूकम्पको ६ महिनापछि पनि सहयोगको निरन्तर आवश्यकता छ । यद्यपि तालिबानको नियन्त्रणका कारण अन्तर्राष्ट्रिय निकायहरू सक्रियरूपमा सहयोग गर्न असमर्थ भएको खामा प्रेसले रिपोर्ट गरेको छ ।
यसअघि रेडक्रस समितिले भूकम्प पीडितका लागि हेरातमा सुरक्षित र न्यानो आवासको आवश्यकतामा जोड दिएको थियो । तथापि हेरातका स्थानीयवासीहरूले तालिबान र संयुक्त राष्ट्रसङ्घका एजेन्सीहरूले हेरातमा भूकम्प पीडितहरूलाई अन्य राष्ट्रहरू र अन्तर्राष्ट्रिय संस्थाहरूले दिएको सहायताको बारेमा पर्याप्त रिपोर्ट नगरेको दाबी गरेका छन् ।