परराष्ट्रमन्त्री विमला र युएसएडकी प्रशासक सामन्थाबीच भेटवार्ता

काठमाडौँ : परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग युएसएडकी प्रशासक सामन्था पावरले भेटवार्ता गरेका छन् ।

मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल र अमेरिकाबीचको अभिरुचिका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटवार्तामा अमेरिकी सहयोग ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) कार्यान्वयन, जलवायु परिवर्तन, नेपाललाई अतिकम विकसित मुलुक एलडीसीबाट स्तरोन्नति गरिएपछि प्रदान गरिने सहयोगलगायतका विषयमा छलफल भएको थियो ।

भेटमा परराष्ट्रमन्त्री पौड्यालले अमेरिकी सरकारले नेपाललाई गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरेकी थिइन् भने प्रशासक पावरले अमेरिकी सरकारका तर्फबाट गरिने सहयोगमा थप वृद्धि गरिने प्रतिबद्धता जाहेर गरेकी थिइन् ।

दुई दिने नेपाल भ्रमणमा आएकी प्रशासक पावरले युएसएडकी १९ औँ प्रशासकका रूपमा सन् २०२१ को मे ३ तारिखमा पदभार ग्रहण गरेकी हुन् । उनले विश्वका अग्रणी अन्तर्राष्ट्रिय विकास निकाय र यसअन्तर्गत विश्वभर रहेका १० हजारभन्दा धेरै कर्मचारीको नेतृत्व गर्दै आएकी छिन् ।