वैशाख ४ गतेदेखि सुरु हुने १४औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो ।
प्रतियोगितामा स्थानीय तह, जिल्ला तथा प्रदेश छनोटबाट आएका सातै प्रदेशका ६ सय ८६ खेलाडी सहभागी हुनेछ । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो र उसु खेलमा ६६ स्वर्णका लागि खेलाडीबीच प्रतिस्पर्धा हुने राखेपले जनाएको छ ।
एथलेटिक्सको छात्र(छात्रामा समान १३ गरी २६ स्वर्ण, कराँते, तेक्वान्दो र उसुको समान ६ गरी ३६ स्वर्ण तथा भलिबल र कबड्डीको छात्र(छात्रा समान एक एक गरी ४ स्वर्णका लागि प्रतिस्पर्धा हुने राखेप सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए ।
उनले संघीय प्रणाली अनुसार विद्यालय तहमा अध्ययनरत १८ वर्षमुनिका विद्यार्थी खेलाडीलाई खेल कौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्न प्रतियोगितालाई निरन्तरता दिएको बताए । राष्ट्रिय खेलाडी उत्पादनका लागि पनि प्रतियोगिता महत्वपूर्ण हुने उनको भनाइ छ ।
त्यस्तै सदस्य सचिव घिसिङले नयाँ ऐनअनुसार केही खेलकुद संघहरूले निर्वाचन गर्न नसकेको भन्दै अब पनि निर्वाचन गर्न नसके कानुनअुसार अघि बढ्ने चेतावनी दिए । प्रतियोगिताको राष्ट्रपति रामचन्द्र पौडेलले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उद्घाटन गर्ने कार्यक्रम छ । कूल ११ लाख ५२ हजार पुरस्कार राशि रहेको प्रतियोगिताको कूल बजेट १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको राखेपले जनाएको छ ।