ईयूको सहयोग प्राथमिकतामा नवीकरणीय ऊर्जा

काठमाडौं : युरोपेली स‌घ ईयूले नेपाललाई प्रदान गर्ने सहयोगका विविध क्षेत्रमध्ये नवीकरणीय ऊर्जा, ऊर्जा सुरक्षा र स्वच्छ ऊर्जामा पहुँचको विषयलाई प्राथमिकतामा राखेको छ।

नेपालको एक दिने औपचारिक भ्रमणका क्रममा बुधबार यहाँ आइपुगेकी अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली संघका आयुक्त युटा उर्पिलाइनेनले भेटवार्तामा नवीकरणीय ऊर्जाका साथै पानी र सरसफाइ तथा मानव पूँजी विकासलगायतका क्षेत्र प्राथमिकतामा रहेको सम्बन्धमा छलफल गरेकी हुन्।

उनले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सिंहदरबारमा भेटवार्ता गरिन्। यस क्रममा नेपाल–इयु सहकार्यका विविध विषयमा छलफल भयो।

त्यसैगरी परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले उनको सम्मानमा दिवाभोज आयोजना गरिन्। कुराकानीका क्रममा परराष्ट्रमन्त्रीले युरोपेली संघ नेपालको विकास सहायताको प्रमुख साझेदार भएको भन्दै ग्रामीण विकास, नवीकरणीय ऊर्जा, खानेपानी, वन र कृषिलगायतका क्षेत्रमा ईयूले गर्दै आएको सहयोगको प्रशंसा गरेकी थिइन्।

आयुक्त उर्पिलाइनेनले इयुले नेपाललाई प्रदान गर्ने नयाँ चरणको बहुवार्षिक सूचक कार्यक्रम ९२०२१–२०२७० अन्तर्गत नवीकरणीय ऊर्जा, ऊर्जा सुरक्षा र स्वच्छ ऊर्जामा पहुँच, पानी र सरसफाइका साथै मानव पूँजी विकासलगायत प्राथमिकताका क्षेत्रबारे छलफल गरेकी थिइन्।

युरोपेली सङ्घले आफ्नो ग्लोबल गेटवे रणनीति प्रस्तुत गर्दै साझेदारसँग डिजिटल, ऊर्जा र यातायात क्षेत्रमा स्मार्ट, स्वच्छ र सुरक्षित लिङ्क बढाउन तथा स्वास्थ्य, शिक्षा र अनुसन्धान प्रणालीलाई सुदृढ गर्न सकारात्मक रहेको जनाएको छ। ईयूले नेपालको समावेशी हरित अर्थतन्त्र, मानव विकास सूचकांक र सुशासन प्रवर्द्धनमा सहयोगको विषयलाई प्राथमिकतामा राखेको जनाएको छ।

भ्रमणमा क्रममा आयुक्त उर्पिलाइनेनले पाँच करोड युरो सहयोगको घोषणा गरिन्। यसले बालबालिकाको शिक्षामा पहुँच बढाउन र युगअनुसार नेपालमा शिक्षाको गुणस्तर बढाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।