काठमाडौंमा कक्षा १२ को परीक्षा केन्द्र र्‍यान्डम प्रक्रियाबाट तोकियो, हेर्नुहोस् परीक्षा केन्द्र

राष्ट्रिय परीक्षा बोर्डले काठमाडौं जिल्लामा कक्षा १२ को परीक्षा केन्द्र तोक्दा आधुनिक प्रविधि प्रयोग गरेर तोकिएको बताएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले परीक्षा केन्द्रलाई प्रभावमा पारी आफ्नो विद्यार्थीलाई सजिलो र प्रतिस्पर्धी विद्यालयका विद्यार्थीहरूलाई विभिन्न हैरानी दिने गुनासो आएकोले सो गुनासो सम्बोधन गर्न परीक्षा केन्द्र स्वचालित (र्‍यान्डम) प्रक्रियाबाट तोक्न निर्देशन दिएकी थिइन् ।

सोही निर्देशन अनुसार मन्त्रालय र बोर्डको प्राविधिक टोलीले ‘पाइलट प्रोजेक्ट’को रूपमा सफ्टवेयर बनाइ पहिलो पटक काठमाडौं जिल्लाका परीक्षा केन्द्र स्वचालित (र्‍यान्डम) विधिबाट छानिएको हो ।

हरेक विद्यालयका परीक्षार्थीको संख्या र परीक्षा केन्द्रको सिट संख्याको आधारमा विद्यालय र केन्द्रको अक्षांश र देशान्तरको आधारमा दुरी निकालिएको थियो । विद्यालयबाट नजिक पर्ने केन्द्रलाई प्राथमिकता दिइएको थियो । एकै विद्यालयको परीक्षार्थी संख्या हेरी सकभर औसतमा १५० भन्दा बढी परीक्षार्थी एकै केन्द्रमा नपर्ने गरी बाँडिएको छ ।

एउटै सञ्चालक भएका विद्यालयहरूमा केन्द्र नपर्ने गरी छनोट गरिएको थियो भने दुई परस्पर विद्यालयका परीक्षार्थीको केन्द्र एक अर्काकोमा पनि नपर्ने गरी व्यवस्था गरिएको छ । विगतका वर्षहरूमा कुनै विद्यालयको कुनै परीक्षा केन्द्रमा केही समस्या परेको भनी गुनासो आएको ठाउँ केन्द्र नदोहोरिने गरी छनोट गरिएको छ ।

प्रत्येक पटक परीक्षा केन्द्र तोक्न प्रोग्राम चलाउँदा फरक फरक नतिजा आउने गरी ‘ऱ्यान्डमाइज’ गरिएको छ। यो सफ्टवेयर र विधि ओपन सोर्स गरी ‘गिटहब’मा राखिएको छ । ओपन सोर्सको मान्यता अनुरूप प्रक्रिया पारदर्शी रूपमा राखिएको यसलाई अझै सबल र पूर्ण स्वचालित बनाउन सुझाव दिन समेत आह्वान गरिएको छ ।

हेर्नुहोस् परीक्षा केन्द्र

सम्बन्धित समाचार